Shikhar Insurance

‘बैंकरले जेल भरिन्छन्, बैंकको ऋण नउठे गभर्नर पक्राउ पर्छन’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार २२:३८
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार कार्यालय समय सुरु हुने वित्तिकै बैंकरहरुको मोबाइल व्यस्त रह्यो । बैंकरहरु सधैँझै व्यापार विस्तार र ऋण असुलीका बारेमा कुरा गरिरहेका थिएनन् । उनीहरु त्रसित मुद्रामा एक अर्कासँग कुरा गरिरहेका सुनिन्थे । र कुराकानीको बिषय थियो–‘तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका दुई जना सीईओहरु पक्राउ प्रकरण ।

मंगलबार कार्यालय समय सुरु हुने वित्तिकै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकरहरुमाथि धरपकड सुरु गरेको थियो । प्रभु बैंकको केन्द्रिय कार्यालयबाट सिनियर डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेसँगै यो सूचना भुसमा आगो झै फैलिसकेको थियो । त्यसपछि प्रभु बैंकको कमलादी शाखाबाट केहि कर्मचारी पक्राउ परे । लगत्तै सेञ्चुरी बैंकका तत्कालिन सीईओ तुल्सीराम गौतम पनि पक्राउ परे । क्षण भरमै तत्कालिन सेञ्चुरी बैंकका दुई सीईओसहित ११ जनालाई पक्रेर सीआईबीले लैनचौर पुर्यायो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो खबरले बैंकरहरु मात्रै होइन, नेपाल राष्ट्र बैंकभित्र पनि ठूलै कम्पन सृजना गरेको थियो । राष्ट्र बैंकका गभर्नरदेखि उच्च पदस्थ अधिकारीहरु चासोका साथ फोन घुमाईरहेका थिए ।

उनीहरु सबैको चिन्ताको साझा बिषय एउटै थियो–‘कमसल धितोमा ऋण किन दिएको भन्दै धमाधम पक्राउ गर्न थालिएपछि अब जेल(हिरासत)हरु बैंकरले भरिने भए ।’

मंगलबार नै हामीले आधा दर्जन बढी बाणिज्य बैंकका सीईओहरुसँग यहि बिषयमा चासो राख्यौं । उनीहरु त्रसित देखिए । प्रत्यक्ष भेटिएकाहरुको अनुहार मलिन थियो । फोन सम्पर्कमा रहेकाहरुको पनि आवाज दबेकै थियो । ‘यस्तै अवस्था हो भने अब जेलहरु बैंकरले भरिन्छन्, कमसल धितोमा ऋण दिँदासम्म के हेरेर बसेको भनेर प्रहरीले गभर्नर सा’बलाई नै पक्राउ गर्यो भने के गर्ने होला ?’, एक बैंकरले हामीसँग भनेका थिए ।

कमसल धितोमा ऋण दिएकै आधारमा बैंकरहरु पक्राउ पर्न थालेपछि अब पेशाबाटै पलायन हुनुपर्ने अवस्था आएको अर्काे एक बैंकका सीईओले दुःखेसो पोखे ।

‘बैंकिङ भनेकै विश्वासको व्यवसाय हो, सुरुमा राम्रो भएको क्लाइन्ट पछि खराब बन्न सक्छ, खराब कर्जा हुने वित्तिकै पक्रेर थुन्न थाल्ने हो भने त हाम्रो पनि पालो आईहाल्यो अब ।’ अर्का एक सीईओले भने । बैंकरहरु अब हथकडी पर्खेर बसिरहेको बताउन थालेका छन् । ‘अब कोहि पनि बैंकर सुरक्षित रहेनौं, जुनसुकै बेला प्रहरीको भ्यान हाम्रो कार्यालयमा आउँछ’, ति बैंकरले भने ।

सडक, सदन देखि प्रहरी प्रशासन समेत बैंक तथा वित्तिय संस्था र त्यसका कर्मचारी विरुद्ध उत्रिन थालेपछि बैंकरहरुको मनोबल सर्वाधिक गिरेको छ । ‘सडकमा बैंक विरुद्ध आन्दोलन चलिरहेको छ, बैंक र कर्मचारीहरु असुरक्षित भैरहेका छन्, राजनीतिज्ञहरुले पनि बैंकहरु मिटर ब्याजी भए भन्न थालेका छन्, अब कमसल धितोमा ऋण किन दिएको भन्दै प्रहरीले पक्रिन थालेको छ, देशका लागि योगदान दिएका छौं भन्ने लागेको थियो, हामी बैंकरहरु त अपराधी जस्ता पो भयौं क्यारे।’ अर्काे एक बाणिज्य बैंकका सीईओले सिंहदरबारसँग भने ।

नेपाल राष्ट्र बैंकका कर्मचारीहरु पनि त्रसित छन् । ‘हामीले पनि फिल्डमा गएर, बैंकमा गएर फाइल हेरेका हुन्छौं, तिमिले हेरेको फाइल किन यस्तो भयो भनेर हामीलाई पनि पक्राउ गर्लान भन्ने पिर छ’, राष्ट्र बैंकका कर्मचारीहरु भन्न थालेका छन् ।

गभर्नर सतर्क, बैंकर्स संघको पूर्ण बैठक
सीआईबीले कमसल धितोमा ऋण दिएको भन्दै धमाधम बैंकर समाउन थालेपछि गभर्नर अधिकारीले सतर्कतासहित बिशेष सक्रियता देखाएका छन् । उनले मंगलबार राष्ट्र बैंकभित्रै उच्च तहका अधिकारीहरुसँग गहन छलफल गरेका छन् भने बैंकरहरुसँग पनि कुराकानी गरे ।
उता, नेपाल बैंकर्स संघले भने बुधबारका लागि संघको पूर्ण बैठक डाकेको छ । सडक, सदन र प्रहरी प्रशासन नै बैंकर विरुद्ध खडा भएपछि सर्वाधिक असुरक्षित महशुस गर्दै बैंकरहरुले पूर्ण बैठकबाट साझा धारणा तय गर्न लागेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्