असुरक्षित बन्दै बैंकमा गरिएको लगानी, १ सयबाट मुस्किलले कमाउँछन् १३ रूपैयाँ

रोविन पौडेल
२०७८ बैशाख २३, बिहीबार १६:०७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले विभिन्न प्रसंगमा भन्दै आएका छन्, “बैंकहरुमा लगानी असुरक्षित हुन थालिसक्यो । पहिले त २५ प्रतिशत प्रतिफल हुन्थ्यो, अहिले १५ प्रतिशतभन्दा तल ओर्लिसक्यो । ११ भन्दा तल ओर्लिए बैंकहरुमा लगानी नगरे हुन्छ ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले पनि विभिन्न फोरममा “सर्वसाधारणहरु बैंकले धेरै नाफा गरेमात्र भन्नुहुन्छ । तर, कहाँ त्यसो हो र ? ३० अर्ब लगानी गरेर वार्षिक ४ अर्ब नाफा गरेको हो अर्थात् १३ प्रतिशत । अरु क्षेत्रको नाफा हेर्नुस् त, २–४ करोड लगानी गरेर त्यति नै नाफा गरेका हुन्छन् ।” भन्दै आएका छन् ।

बैंकहरुले मासिक अर्बौंको नाफा गरिरहेको वित्तीय विवरणले देखाउँछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

तर, बैंकरहरु भने नाफा बढ्दै गएको भएपनि लगानीको प्रतिफल कम हुँदै आएको जिकिर गर्दै आएका छन् । यसको कारण हो, जुन दरमा बैंकमा गरिएको लगानी बढ्दै गएको छ, त्यो दरमा नाफा नबढ्नु ।

वाणिज्य बैंकहरुको सेयर किन्ने वा बेच्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् आधारः

चुक्तापुँजी वृद्धि, रिजर्भमा सुधार भएसँगै सेयरधनीको कोषमा रहेको रकम अर्थात् बैंकको कुल इक्विटी व्यापक मात्रामा बढ्दा नाफामा भने सामान्य सुधार आएको छ । कुल इक्विटीले बैंकको दायित्व घटाएर बाँकी रहेको कुल पुँजी भन्ने अर्थ दिन्छ ।

बैंकका सेयरधनीहरुले बैंकमा गरेको लगानीको प्रतिफल बढ्न नसक्नुको कारण बैंकहरुबीच भएको कडा प्रतिस्पर्धा, नियामकीय कडाइ तथा व्यवसाय विस्तारमा अंकुश हो ।

कुल इक्विटीको तुलनामा गरिएको नाफाको दरलाई बैंकहरुको वित्तीय विवरणमा रिटर्न अन इक्विटी (आरओई) भनिएको हुन्छ । २०७० असार मसान्तमा २४.८३ प्रतिशत रहेको बैंकहरुको औसत आरओई साढे ७ वर्षमा १३.८२ प्रतिशतमा खुम्चिएको वित्तीय विवरणले देखाउँछ ।

यही करिब १४ रूपैयाँ कमाउन बैंकले दुनियाँभरको कसरत गर्छन् । कर्जा लगानी गर्छन्, सेयर कारोबार गर्छन्, सञ्चालन मुनाफा सकेसम्म कम बनाउन मिहिनेत गर्छन् । नाफा देखाउनकै लागि प्रोभिजनका लागि छुट्याइएको रकम राइट ब्याक गर्छन् । यसो गर्दा पनि बैंकहरूलाई १०० रूपैयाँवापत् १४ रूपैयाँ कमाउन पनि मुस्किल परेको हुन्छ ।

चुक्तापुँजी, सेयर प्रिमियम, रिटेन्ड अर्निङ र रिजर्भको कुल टोटल इक्विटी हुन्छ । टोटल इक्विटीमा सेयर प्रिमियम र रिटेन्ड अर्निङको मात्रा कम हुन्छ ।

सामान्य रुपमा हिसाब गर्दा मानौं, बैंकको चुक्तापुँजी १० अर्ब (१० करोड कित्ता सेयरका धनीको लगानी) छ र रिजर्भमा १० अर्ब नै छ भने बैंकको कुल सेयरधनी पुँजी (इक्विटी) २० अर्बको हुन्छ । र, बैंकले वर्ष भरी २ अर्ब रुपैयाँ खुद नाफा गर्छ भने बैंकको रिटर्न अन इक्विटी २ भाग २० गुणा १०० (२÷२०*१००%) अर्थात् १०% हुन्छ ।

१ सय रूपैयाँबाट १३ रूपैयाँ कमाउन बैंकहरू अनेक मिहिनेत गर्छन् । निक्षेपभन्दा धेरै ब्याजदरमा कर्जा प्रवाह गर्छन् । सञ्चालन खर्च सकेसम्म कम गर्छन् । त्यतिले मात्र नपुगेर नाफा बढी देखाउनकै लागि प्रोभिजन गरेको रकम राइटब्याक गर्छन् ।

बैंकहरुको चुक्तापुँजी र रिजर्भ कति ?

बैंकहरुको कुल इक्विटी कति ?

अन्य व्यवसायहरुले लगानीको प्रतिफल बढाउँदै गर्दा बैंकमा गरिएको लगानीको भने प्रतिफल घट्दै जान थालेको छ । तर, बैंकरहरुले १२–१३ प्रतिशत रिटर्न राम्रै रहेको बताउँदै आएका छन् । रिटर्न अन इक्विटी २० प्रतिशतको हाराहारीमा हुने समय बैंकहरुको व्यापक आलोचना हुने गरेको थियो ।

साढे ७ वर्षको बीचमा वाणिज्य बैंकहरुको कुल इक्विटी ९६ अर्ब ६२ करोडबाट साढे ५ गुणाले बढेर ५ खर्ब ४० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस अवधीमा अधिकांश वाणिज्य बैंकहरुको चुक्तापुँजी चार गुणाले बढेको छ, केहीको भने बढेर २१ अर्ब रुपैयाँसम्म पुगेको छ ।

यस्तै बैंकहरुले रिजर्भ ठूलो मात्रामा बढाएका छन् । नेपाल बैंकसँग १६ अर्ब रुपैयाँको रिजर्भ कोष छ । सेन्चुरीको सबैभन्दा सानो १ अर्ब ३८ करोडको रिजर्भ कोष छ ।

सरी हेर्दा सबैभन्दा ठूलो इक्विटी भएको बैंक नेपाल बैंक हो । बैंकको कुल इक्विटी ३४ अर्ब १४ करोडको छ । ग्लोबल आईएमईसँग ३२ अर्ब र नबिल बैंकसँग ३१ अर्बको इक्विटी छ । सबैभन्दा थोरै इक्विटी भएका बैंकहरु सेन्चुरी र सिभिल हुन् । उनीहरुको कुल इक्विटी क्रमशः १० अर्ब ६४ करोड र १० अर्ब ६६ करोड छ ।

अब उनीहरुले कमाएको नाफाको कुरा गरौं । २० अर्ब २३ करोड इक्विटी भएको एनआईसी एसिया बैंकले सर्वाधिक २३.२६ प्रतिशत कमाएको छ । यस्तै १४ अर्ब ३९ करोड इक्विटी भएको सानिमाको आरओई १९.७३ प्रतिशत छ ।

सबैभन्दा बढी इक्विटी भएको नेपाल बैंकको कमाइ इक्विटीको ९.४६ प्रतिशतमात्र (नौ महिनाको वित्तीय विवरणका आधारमा) छ । सबैभन्दा बढी नाफा गर्ने नबिल बैंकको कमाइ इक्विटीको १७.९५ प्रतिशत छ ।

सबैभन्दा कम इक्विटी भएको सेन्चुरीको आरओई पनि सबैभन्दा कम ४.६४ प्रतिशतमात्र छ । ९ महिनामा बैंकले ३५ करोड रुपैयाँमात्र नाफा गरेको थियो ।

कुन बैंकको आरओई कति ?

नोटः वाणिज्य बैंकहरुको चैत मसान्तसम्मको खुद मुनाफालाई वार्षिकीकरण गरेर त्रैमासिक आरओई निकालिएको हुन्छ ।

साढे ७ वर्ष अघि ९६ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेर बैंकहरुले १९ अर्ब कमाएका थिए । अहिले ५ खर्ब ४० अर्ब रुपैयाँ लगानी गर्दा नाफा ५१ अर्ब रुपैयाँ मात्र छ ।

अझै सञ्चालन मुनाफाका आधारमा हेर्दा बैंकहरुको नाफा घटेको छ । १२ बैंकहरुले प्रोभिजन राइट ब्याक गर्दा नाफा बढेको देखिएको हो । त्यो पनि घटाउने हो भने आरओई १२ प्रतिशत हुन आउने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

प्रोभिजनबाहेक सञ्चालन मुनाफा ९ करोड रुपैयाँले मात्र बढेको छ । त्यसमा पनि गत चैत यता ३ वाणिज्य बैंकले मर्जर गरेका छन् । मेगा बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले केही विकास बैंक प्राप्ति गरेका छन् । यदी त्यो अक्वायर नगरेको भए सञ्चालन मुनाफा घटेको दाबी दाहालको छ ।

“४ विकास बैंक जोडिँदा पनि सञ्चालन मुनाफा ०.१२ प्रतिशतले बढेको छ,” दाहालले सिंहदरबारसँग भने, “प्राप्ति नभएको भए नाफा उल्टै घटेको छ ।” यसबीचमा वाणिज्य बैंकहरुले साढे ६ अर्ब रुपैयाँ प्रोभिजन गर्नुपर्नेमा १ अर्ब २१ करोड रुपैयाँ मात्र गरेका छन् ।

“नाफा बढ्यो भन्नुमा सत्यता छैन,” दाहालले भने, “बैंकहरुले प्रोभिजनका लागि पोहोर छुट्याएको पैसा ल्याएर नाफा बढेको हो, रिकभर भएकाले हैन ।”

उनले सर्वसाधारणहरुमा बैंकहरु बढी नाफा कमाए भन्ने धारणा नबनाउन आग्रह पनि गरे । उनले भने, “इक्विटीको १०–१२ प्रतिशत नाफा कहाँ बढी हो र ?”

बैंकहरुबीच प्रतिस्पर्धा निकै बढेको बताउँदै उनले कर्जा प्रवाह २४ प्रतिशतले बढेपनि खुद ब्याज आम्दानी २.२२ प्रतिशतले घटेको बताए । दाहालले थपे, “यसको कारण हो स्प्रेड दर घट्नु ।”

कुन बैंकको स्प्रेड दर कति ?

प्रतिक्रिया दिनुहोस्