Shikhar Insurance

१० करोड लागतमा निर्माण भएको गलुवा–भकुण्डे सडक २० वर्षपछि कालोपत्र हुँदै

सिंहदरबार संवाददाता
२०८० चैत्र २६, सोमबार १४:०३
NIMB
Nabil Bank

बागलुङ । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो ।

जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ । बागलुङ नगरपालिकाको ५ करोड र सङ्घीय सरकारको ५ करोड गरी १० करोड लागत अनुमान गरिएको सडक ७ करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

“बीस वर्ष अघि हामीले चन्दा उठाएर सडक खनेका थियौँ, पहिला तित्याङबाट खनिएको सडक पछि छोटो बनाउन गलुवाबाट भकुण्डे जोडिएको थियो । ट्र्याक खोलिएको २० वर्षपछि कालोपत्र हुन लागेको छ । जनताले श्रमदान र चन्दा दिएर खनेको सडक कालोपत्र हुन लागेकोमा हामी खुसी छौँ ।”स्थानीयवासी नरबहादुर थापाले बताए ।

बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रको पूर्वाधार निर्माण भइसकेको जानकारी दिए । हाल सडक चौडा बनाउने, नाली, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको अध्यक्ष थापाले बताए ।

सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर सोविन घर्तीले जानकारी दिए । सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि सङघ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउँदा कालोपत्र गर्न ढिलाइ हुने नगरपालिकाले जनाएको छ । विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी थिए, तर बजेट अभावले आगामी आर्थिक वर्षसम्म काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

इञ्जिनीयर घर्तीले भने,“कामको गति तीव्र थियो । बहुवर्षीय ठेक्का भएका कारण आगामी वर्षसम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिएलगत्तै थप तीन किमिका लागि ठेक्का लगाउने तयारी नगरपालिकाको छ ।”यस्तै नगरपालिकाको पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा १० करोड लागत मूल्याङ्कन गरेर स्विकृतिका लागि पठाइएको घर्तीले बताए ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँ हो । तर सडक स्तरोन्नती नहुँदा पर्यटकले सास्ती भोग्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्