Shikhar Insurance

बाँकेको सिधनियाघाट खण्डमा सडक मर्मत नहुँदा सर्वसाधारणलाई कठिन

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १३:०६
NIMB
Nabil Bank

राँझा । बाँकेको नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् ।

राप्ती नदीमा आएको बाढीले छ वर्षअघि २०७४ सालमा बगाएको सडक हालसम्म बन्न सकेको छैन । राप्ती नदीको पुल पार गरेपछि करिब तीन किलोमिटर सडक अहिले हिउँदमा धुलाम्मे र वर्षाका बेला हिलाम्मे हुने गरेको छ । हुलाकी सडकको अन्य सबै भाग कालोपत्र भए पनि राप्ती नदीको बगरक्षेत्रमा सडक नबन्दा नरैनापुर र राप्ती सोनारी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्ज आवागमनमा अहिले सास्ती हुँदै आएको राप्ती सोनारी–६ का वडाध्यक्ष लवराज खरेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

वडाध्यक्ष खरेलले भने,“यो सडक निर्माणका लागि पटक पटक पहल गर्दै आए पनि हुन सकेको छैन, बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर आवागमन गर्न बाध्य भएका छौँ । नयाँ बन्न लागेको पुलको निर्माण कम्पनीले पुरानो चलन चल्तीको बाटो बन्द गरेका कारण अहिले थप समस्या भएको छ ।” उनले पुल निर्माण नहुँदासम्म वैकल्पिक सडक प्रयोग गर्न दिन निर्माण कम्पनीलाई आग्रह गरेका छन् । विगतमा राप्ती नदीले बगाएको सडकमा अहिले पुल निर्माणको काम भइरहेको छ । पुल निर्माणका क्रममा सडक आवागमनमा अवरोध नगरी सहज बनाउनुपर्ने वडाध्यक्ष खरेलको भनाइ छ ।

सडक नबन्दा यतिबेला सिधनियाघाटमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । नदी किनारको बालुवाको धुलोमा दैनिकजसो मोटरसाइकल पल्टिएर दुर्घटना हुने गरेको नरैनापुरका अगुवा युवा सोहनलाल यादवले बताए । राप्ती नदीको सिधनियाघाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनियाघाटमा हाल प्रयोगमा रहेको पुल निकै साँघुरो तथा सानो समेत रहेकाले वर्षा र बाढीको समयमा आवागमन ठप्प हुने तथा अन्य समयमा समेत आवागमनमा समस्या हुने भएकाले ७ सय मिटर लामो र ११ मिटर चौडाइ भएको नयाँ पुल निर्माण सुरु गरिएको हो ।

पुल निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले भत्किएको सडकमा आवागमनमा कठिनाइ भएकाले उक्त सडकलाई ग्राभेल गरी सहज बनाउनका लागि यथाशीघ्र काम थालिने बताए । सो सडकबाट बालुवा, मोरङ तथा गिट्टी बोक्ने टिप्पर दैनिक सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्दा धुलो उडेर सर्वसाधारणलाई आवागमनमा थप समस्या भएकाले उक्त सडकमा पानी हाल्ने र ग्राभेल गरी समस्यालाई न्यूनीकरण गर्नेगरी यथाशक्य छिटो काम सुरु गर्ने उनको भनाइ छ ।

राप्ती नदीमा हरेक वर्ष आउने गरेको बाढीले पटक–पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि ५३ महिनामा निर्माण सक्नेगरी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले पुल निर्माण सुरु गरेको छ । विसं २०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर पटेलले बताए । उनका अनुसार अहिले निर्माण भइरहेको पुल सात सय मिटर लामो, ११ मिटर चौडा रहने तथा दुबैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ ।

भ्याटसहित १ अर्ब २० करोडमा निर्माण भइरहेको उक्त पुलको पाइलिङको काम हाल सुरु गरिएको जनाउँदै पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको इन्जिनियर पटेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्