Shikhar Insurance

बजेट अभावले महाकाली करिडोरको निर्माण कार्य कछुवा गतिमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १३:४३
NIMB
Nabil Bank

महेन्द्रनगर । नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले बजेट अभावका कारण काम सकेर पनि रकम भुक्तानी गर्न नसकेको जनाएको हो ।

कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो । कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले गत माघको अन्तिम सातादेखि बजेट अभावले काम प्रभावित भएको बताए । चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको प्रमुख जोशीले जानकारी दिए । “गतवर्ष ४० करोड बजेट हुँदा पनि त्यो सकिने बित्तिकै तत्काल माथिबाट बजेट थप भएको थियो । चालु आर्थिक वर्षमा बजेट कम थियो, त्यसमाथि पनि बजेट माग गर्दा आएको छैन् ।” उनले भने । उनले योजनाका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

माघ महिनायता निर्माण कम्पनीहरुले काम गरेबापतको १६ करोड रकम भुक्तानी बाँकी रहेको प्रमुख जोशीले बताए । उनले माथिबाट बजेट आउने सुनिश्चितता नभएको बताए । तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली करिडोर अन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । त्यसैगरी दुर्इ सय ४५ किलोमिटर करिडोरको ट्रयाक खुलिसकेको प्रमुख जोशीले जानकारी दिए ।

उनले भने,“ट्र्याक खुलाउने, सडक स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कामहरु एकसाथ अघि बढेको छ । कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पर्ने ११ किलोमिटर ट्र्याक मात्रै खुलेको छ । त्यहाँ सडक चौडा गर्ने अरु संरचना निर्माण बाँकी छ ।” करिडोर योजना अन्तर्गत डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ र दार्चुलामा सेनाले निर्माण गरिरहेको बाहेक एक सय २१ किलोमिटर सडक पर्छ । २०६५र६६ सालमा दार्चुला–तिङ्कर सडक योजनाबाट सुरु भएको करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणासहित २०७७र७८ सालमा कञ्चनपुरसम्म जोडिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले करिडोरको काम बजेट अभावले प्रभावित हुनु दुखद् भएको बताए । “त्रिदेशीय नाकाका रुपमा अघि बढेको योजनालाई थप सहयोग गर्न महाकाली नदीमा चार लेनको पुल बनिसक्यो । रणनीतिक रुपले महत्व बोकेको करिडोरको बजेट अभावको विषयमा सरकारको ध्यान जानुपर्छ ।” मल्लले भने । उनले पुलसँगै दोधारा चादँनी सुख्खा बन्दरगाहको काम पनि तत्काल अघि बढ्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्