Shikhar Insurance

अबदेखि राजधानीका लागि आयात हुने मालवस्तु सिमामा नरोकिने, निर्यातमा पनि कम झमेला (भिडियो)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १६:३७
NIMB
Nabil Bank

काठमाडौं । चोभारमा अत्याधुनिक आईसीडी/सीएफएस (इनल्यान्ड कन्टेनर डिपो / कन्टेनर फ्रेट स्टेसन) अर्थात् सुख्खा बन्दरगाह तयार भएको छ । डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चेर करिब ३ वर्षमा तयार सुख्खा बन्दरगाह सञ्चालन गर्न योग्य बनेको हो ।

हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनका लागि तम्तयार छ । योसँगै राजधानीका लागि आयात भएका मालसामाग्री सीमाबिन्दुमा रहेका भन्सारमा जाँच पास नगरीकनै सीधै सुख्खा बन्दरगारमा आएर सबै काम गर्न सकिने भएको हो । यसैगरी निर्यात हुने सामाग्री पनि यही बिन्दुमा आवश्यक प्रक्रिया पुरा गरी निर्यात हुन सक्छन् । यो बन्दरगाहले वैदेशिक र आन्तरिक व्यापार दुवैमा सहजीकरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो संरचना नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत निर्माण भएको हो । समितिको अगुवाइमा मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमै अत्याधुनिक संरचना तयार भएको हो ।

विश्व बैंकको ऋण लगानीमा बनेको यो बन्दरगाह निर्माणमा १ अर्ब ६० करोड रूपैयाँ खर्च भएको छ । चिनियाँ–नेपाली कम्पनीहरूको ज्वाइन्ट भेन्चर शान्शी–आशिष जेभीले बन्दरगाह निर्माण गरेको हो । जहाँ भन्सार कार्यालय र भन्सार क्वारेन्टाइनका लागिसमेत पूर्वाधार तयार पारिएको छ ।

बन्दरगाह अन्य भन्सार बिन्दु झैं हुनेछ । निर्माणाधीन काठमाडौं–तराई(मधेश) द्रुतमार्ग लक्षित गरेर यहाँ बन्दरगाह बनाइएको छ । यो सुख्खा बन्दरगाहले लागत घटाएर व्यापार सहजीकरण गर्ने बताइएको छ ।

बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौं सुख्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना, स्थानीय अवरोध, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइले निर्माण ढिला भएको हो ।

सुख्खा बन्दरगाह नेपालको भन्सारमा नौलो प्रयोग हो । अब सीमा नाकामा गरिने भन्सार जाँचपास यही बन्दरगाहमा हुनेछ । बन्दरगाह सञ्चालनमा आएपछि राजधानी आसपासका लागि भित्रिने मालबहाक सवारी वीरगञ्ज वा भैरहवामा लामो प्रक्रियाका लागि रोकिनुपर्दैन । ती सामान सीधै काठमाडौं आउन सक्छन् । सीमामा आइपुगेका कन्टेनर बाटोभर ट्र्याक भइ बन्दरगाह आइपुग्नेछन् । सो सिल चोभारस्थित काठमाडौं आईएसडी/सीएफएसमा खोलिने र आवश्यक प्रक्रिया पुरा गरिनेछ ।

बन्दरगाहमा ५ सय ट्रक र त्यतिनै सङ्ख्यामा कन्टेनर अट्नेछन् । बन्दरगाहमा भन्सार भवन, क्वारेन्टाइन भवन, सुरक्षाकर्मीको भवन, गोदामलगायत संरचना बनिसकेका छन् । यस्तै सामान परीक्षण गर्ने ठाउँ, २ वटा ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका गोदाम निर्माण सम्पन्न भइसकेको छ । अर्को एउटा सानो गोदाम पनि तयार भएको छ ।

बन्दरगाहमा वैदेशिक व्यापार र आन्तरिक व्यापारका लागि आएका मालवस्तु राख्ने छुट्टाछुट्टै ठाउँ छुट्याइएको छ । साथै निर्यातकर्तालाई पनि नाकासम्म पुग्नुपर्ने झमेला हटेको छ ।

कूल २२० रोपानी क्षेत्रफलमा फैलिएको बन्दरगाह काठमाडौं तराई–मधेश द्रूतमार्ग निर्माण भई सञ्चालनमा आएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । त्यसका लागि पछाडिपट्टि गेट बनाउन सकिनेछ । बाग्मती नदीमा पुल बनाएर द्रुतमार्गबाट कन्टेनर सीधै बन्दरगाहमा प्रवेश पाउनेछन् । यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं रेल, केरूङ–काठमाडौं रेलबाट आएका सामान पनि सीधै चोभार लैजान सकिन्छ । त्यसपछि बन्दरगाहलाई विस्तार गरिनेछ ।

बन्दरगाह निर्माण सम्पन्न भएको जानकारी समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । “बन्दरगाहलाई कसरी सञ्चालन गर्ने भन्ने तय हुने क्रममा छ,” गजुरेलले भने, “सँगसँगै उद्घाटन हुने मिति पनि तय हुनेछ ।”

२०७५ मै काम सुरु गर्ने भनिएपनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ माघ ३ गते शिलान्यास गरेका थिए । बन्दरगाह १८ महिनामा निर्माण सम्पन्न हुने बताइएको थियो ।
“निर्माण शुरू गर्दा स्थानीयवासीको विरोधले ६ महिना काम रोकिएको थियो । कोरोनाको दुई लहरले थप ८ महिना काम प्रभावित भयो,” गजुरेलले भने । बन्दरगाहका ३ वटा मुख्य गेट, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना पनि निर्माण भइसकेको छ । कन्टेनर यार्ड र पार्किङ यार्डसहित अन्य संरचना पनि तयार भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्