Shikhar Insurance

महिना दिनमै बैंकहरूले फिर्ता लिए ४ अर्ब बढी सेयर धितो कर्जा, सनराइज सबैभन्दा अघि

वाणिज्य बैंकहरुले नै फिर्ता मागे साढे ३ अर्ब, कुन बैंकको कति ?
दिलु कार्की
२०७८ कार्तिक ८, सोमबार २०:०८
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्त कम्पनीले १ महिनामै सेयर धितोमा गएको ४ अर्ब रुपैयाँ बढी कर्जा फिर्ता लिएका छन् । राष्ट्र बैंकले लगाम लगाएसँगै बैंक तथा वित्त कम्पनीबाट प्रवाह भएको कुल १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ कर्जा १ खर्ब ४ अर्ब ४९ करोड रुपैयाँमा ओर्लिएको हो ।

नेपाल राष्ट्र बैंकले गत साउन २९ गते मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको थियो जसअनुसार बैंक तथा वित्त कम्पनीबाट एक जना ऋणीले सेयर धितो मूल्याङ्कनमा ४ करोड रुपैयाँ र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र कर्जा लिन पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले उक्त व्यवस्था गर्दासम्म बैंक तथा वित्त कम्पनीले साउन मसान्तसम्म १ खर्ब ८ अर्ब ५१ करोड १५ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिइसकेको थिए । बैंक तथा वित्त कम्पनीले केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्थाको कार्यान्वयन गर्दै एक महिनामै अर्थात् भदौ मसान्तसम्म यस्तो कर्जा ४ अर्ब १ करोड ८० लाख रुपैयाँले घटाएर १ खर्ब ४ अर्ब ४९ करोड ३५ लाख रुपैयाँमा सीमित गरेका छन् ।

राष्ट्र बैंकको सेयर धितो कर्जाबारे नयाँ नीतिपछि बैंक तथा वित्त कम्पनीले एक महिनामै ३.७० प्रतिशतले सेयर धितोमा जाने कर्जा घटाएका हुन् ।

गत असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्त कम्पनीले सेयर धितोमा कर्जा २.१० प्रतिशत अर्थात् २ अर्ब २३ करोड रुपैयाँले थप गरेका थिए । गत असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले सेयर धितोमा १ खर्ब ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थालाई कार्यान्वयन गराउन सर्कुलरमार्फत बैंक तथा वित्त कम्पनीले सेयर बजारमा कर्जाका रुपमा गरेको लगानीलाई एक वर्ष भित्रमा तोकिएको सीमासम्म ल्याउन निर्देशन दिइसकेको छ । सो निर्देशन पछि बैंक तथा वित्त कम्पनीहरूले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोमा राखी दिएको कर्जा फिर्ता लिनुको कुनै विकल्प थिएन ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेपछि सो अघिसम्म मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा प्रवाह गरेका बैंक तथा वित्त कम्पनीहरूले नयाँ कर्जा प्रवाहमा नियन्त्रण गर्दै सीमाभन्दा बाहिर प्रवाहित कर्जा समेत फिर्ता मागेका हुन् ।

बैंक/वित्त कम्पनीले प्रवाह गरेको सेयर धितो कर्जा (रू १० लाखमा)

 

साढे ३ अर्ब सेयर धितो कर्जा वाणिज्य बैंकहरुले नै फिर्ता लिए, सबैभन्दा बढी कर्जा घटाउने सनराइज बैंक
एक महिनामा घटेको ४ अर्बमध्ये वाणिज्य बैंकहरुको ३ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ छ । साउन महिनासम्म प्रवाह भएको कर्जाबाट भदौ मसान्तसम्म आइपुग्दा उनीहरूले सो मात्राको कर्जा घटाएका हुन् ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुले ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । भदौ मसान्तसम्म यस्तो कर्जा ३.९६ प्रतिशतले घटाएर ८८ अर्ब ४३ करोड ७० लाख रुपैयाँमा सीमित गरेका हुन् ।

जबकि गत असार मसान्तको तुलनामा साउन मसान्तसम्म वाणिज्य बैंकहरुले १.२८ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ३८ लाख रुपैयाँले सेयर धितो कर्जा थप प्रवाह गरेका हुन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्डर्ट बैंक र नेपाल एसबीआई बैंक बाहेक सबैले सेयर धितोमा कर्जा प्रवाह गर्छन् । राष्ट्र बैंकले नयाँ सेयर धितो कर्जा नीतिको व्यवस्था गरेपछि २५ मध्ये १५ वटा बैंकले साउन महिनामा दिएको सेयर धितो कर्जा भदौ मसान्तमा घटाएका छन् ।

यी बैंकहरुले साउन मसान्तसम्म प्रवाहित सेयर धितो कर्जा ७७ लाख रुपैयाँदेखि ९२ करोड ११ लाख रुपैयाँसम्मले घटाएका छन् । तर, १० वटा वाणिज्य बैंकले भने साउनमा दिएको सेयर धितो कर्जामा भदौ मसान्तसम्म ४ लाख रुपैयाँदेखि ३१ करोड ८२ लाख रुपैयाँसम्मले थप गरेका छन् ।

गत साउन मसान्तको तुलनामा भदौ मसान्तमा सबैभन्दा बढी सेयर धितो कर्जा सनराइज बैंकले र सबैभन्दा थोरै सिभिल बैंकले घटाएको छ । सिभिलले ७७ लाख रुपैयाँमा फिर्ता लिँदा सनराइजले ९२ करोड ११ लाख रुपैयाँ लिएको हो ।

सिद्धार्थले ८२ करोड ३१ लाख र प्रभु बैंकले ६६ करोड ६६ लाख रुपैयाँ कर्जा फिर्ता लिएको छ ।

सो अवधिमा एनआइसी एशिया, नेपाल बैंक, नेपाल बङ्गलादेश, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स, एनएमबि, मेगा र एनसीसी बैंकले १३ करोड रुपैयाँदेखि ३४ करोड रुपैयाँसम्मले सेयर धितोमा प्रवाहित कर्जा घटाएका छन् ।

हिमालयन, कुमारी र सिभिल बैंकले १० करोड रुपैयाँभन्दा कमले घटाएका छन् ।

यसैगरी, राष्ट्र बैंकले सेयर धितो कर्जाको नयाँ नीतिगत व्यवस्था गरेपछि समेत १० वटा वाणिज्य बैंकले भने यस्तो कर्जा थप प्रवाह गरेका छन् । जसमा एभरेष्ट बैंकले सबैभन्दा थोरै र सबैभन्दा बढी माछापुच्छ्रे बैंकले साउन मसान्तको तुलनामा भदौ मसान्तमा सेयर धितो कर्जा थप गरेका हुन् ।

१० वटा वाणिज्य बैंकले भने यस्तो कर्जा थप गरेका छन् । केन्द्रिय बैंकबाट तथ्यांकअनुसार १ महिनामा एभरेष्ट बैंकले सबैभन्दा थोरै र माछापुच्छ्रे बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा थप गरेका हुन् ।

१ महिनामै नबिल बैंकले २५ करोड ३९ लाख र सेञ्चुरी बैंकले २० करोड रुपैयाँ सेयर धितो कर्जा थप गरेका छन् । साथै, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सानिमा र एभरेष्ट बैंकले १० करोड रुपैयाँभन्दा कम सेयर धितो कर्जा थप गरेका हुन् ।

वाणिज्य बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा (रू १० लाखमा)

 

विकास बैंकहरूले १३ करोडले घटाए सेयर धितो कर्जा

राष्ट्र बैंकले नयाँ सेयर धितो नीतिको व्यवस्था गरेपछि विकास बैंकहरुले १३ करोड ६४ लाख रुपैयाँले सेयर धितो कर्जा घटाएका छन् । गत साउन मसान्तसम्म विकास बैंकहरुबाट कुल १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । भदौ मसान्तसम्म आइपुग्दा यस्तो कर्जा १.०३ प्रतिशतले घटेर १३ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

जबकि गत असार मसान्तसम्म प्रवाहित सेयर धितो कर्जाको तुलनामा विकास बैंकहरुले साउन मसान्तमा ५.७१ प्रतिशत अर्थात् ७१ करोड ५३ लाख रुपैयाँ थप गरेका थिए । गत असार मसान्तसम्म विकास बैंकहरुले १२ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांक छ ।

समग्रमा विकास बैंकहरुले एक महिनामै सेयर धितो कर्जा घटाएको तथ्यांक देखिएपनि सो अवघिमा ५ वटा विकास बैंकहरुले मात्र यस्तो कर्जा घटाएका हुन् । सञ्चालनमा रहेका १८ विकास बैंकहरुमध्ये १२ वटा बैंकले मात्र सेयर धितो कर्जा प्रवाह गरेका छन् । जसमध्ये ५ वटा विकास बैंकले एक महिनामा सेयर धितो कर्जा घटाएका हुन् भने ७ वटाले थप गरेका हुन् ।

सेयर धितो कर्जा साउन मसान्तको तुलनामा भदौमा घटाउनेमा महालक्ष्मी विकास, एक्सेल डेभलपमेन्ट, मुक्तिनाथ, गरिमा र कामना सेवा विकास बैंकले घटाएका हुन् । यी बैंकले ३ करोड रुपैयाँदेखि २३ करोड रुपैयाँसम्मले घटाएका हुन् ।

विकास बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा (रू १० लाखमा)

 

फाइनान्स कम्पनीहरूको फिर्ता सेयर धितो कर्जा

साउन मसान्तसम्म प्रवाहित सेयर धितो कर्जामा ७ वटा विकास बैंकले भने २० हजार रुपैयाँदेखि १४ करोड रुपैयाँसम्म थप गरेका छन् । गत साउन मसान्तको तुलनामा भदौ मसान्तमा सेयर धितो कर्जा थप गर्ने विकास बैंकहरु सांग्रिला डेभलपमेन्ट, ज्योति विकास, साइन रेसुङ्गा, लुम्बिनी विकास र सिन्धु विकास हुन् ।

यता फाइनान्स कम्पनीहरूले पनि राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को नीतिपछि २३ करोड ३५ लाख रुपैयाँले घटाएका छन् । हाल १७ वटा फाइनान्स कम्पनी सञ्चालनमा छन् । जसमध्ये १३ वटा फाइनान्स कम्पनीले मात्र सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

यी कम्पनीहरूले असार मसान्तको तुलनामा साउन मसान्तमा १२.३९ प्रतिशत अर्थात् ३५ करोड रुपैयाँले सेयर धितो कर्जा बढाएका थिए । गत असार मसान्तसम्म फाइनान्स कम्पनीहरूले २ अर्ब ८३ करोड २६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । भदौ मसान्तमा आइपुग्दा यस्तो कर्जा साउन मसान्तभन्दा ७.३३ प्रतिशतले घटाएर २ अर्ब ४२ करोड ८० लाख रुपैयाँमा सीमित गरेका हुन् ।

सेयर धितो कर्जा प्रवाह गर्ने फाइनान्स कम्पनीहरूमध्ये ५ वटाले साउन मसान्तको तुलनामा भदौ मसान्तमा आइपुग्दा घटाएका छन् भने ८ वटा कम्पनीले थप गरेका छन् ।

फाइनान्स कम्पनीहरूको सेयर धितो  कर्जा (रू १० लाखमा)

 

सेयर धितो कर्जा वर्षदिनमै दोब्बर

बैंक तथा वित्त कम्पनीहरूले सेयर धितो कर्जा १ वर्षमै दोब्बर बनाएका छन् । गत आर्थिक वर्षको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा यस्तो कर्जा ९८ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्त कम्पनीले अघिल्लो भदौ मसान्तसम्म ५२ अर्ब ७८ करोड ३० लाख रूपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकामा वर्षदिनमा ५१ अर्ब ७१ करोड रूपैयाँ थप गरेका हुन् ।

बैंक तथा वित्त कम्पनीहरूको सेयर धितो कर्जा (रू १० लाखमा)

 

GBIME

प्रतिक्रिया दिनुहोस्