Shikhar Insurance

२४ वाणिज्य बैंकले सीडी कटाएर कर्जा रोके, एनआईसी, प्रभु र एभरेष्टको मात्र ९० मुनि

५ बैंकले ९६ कटाउँदा कुन बैंकले कति पुर्‍याए ?
दिलु कार्की
२०७८ मंसिर १७, शुक्रबार १८:०८
NIMB
Nabil Bank

काठमाडौं । अधिकांश वाणिज्य बैंकले कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकले तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा कटाएपछि २४ बैंकले नयाँ कर्जा रोकेका हुन् ।

अधिकांशले बैंकले सीडी रेसियो कटाउँदा एनआइसी एसिया, प्रभु र एभरेष्ट बैंकले भने सीमाभित्रै रहेर व्यवसाय गरिरहेका छन् । यी बैंक बाहेक सबै वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतमाथि पुगेको छ । सोही कारणले थप स्रोत व्यवस्थापन नगरी नयाँ कर्जाको फाइल यी बैंकहरुले रोकेको हुन् । एनआसी एशिया र प्रभु बैंकको ८९.६२ तथा एभरेष्टको ८७.३८ प्रतिशत सीडी रेसियो छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिंहदरबारलाई प्राप्त तथ्यांकअनुसार मंसिर १४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो नै ९३.४४ प्रतिशत छ ।

सो अवधिमा २४ बैंकको सीडी रेसियो सीमाभन्दा माथि छ । जसमध्ये ८ वटा बैंकको सीडी रेसियो ९५ प्रतिशत छ ।

सीडी रेसियो ९० प्रतिशतमाथि भएका बैंकहरुले संकलित स्रोत भन्दा अधिक कर्जा प्रवाह गरेको हुँदा थप कर्जा दिन नसक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

‘बैंकहरुले अहिले ९० प्रतिशतभन्दा माथि सीडी रेसियो पुगेका बैंकहरुले थप स्रोत संकलन नगरी नयाँ कर्जा दिन समस्या हुन्छ, सोही कारणले केही बैंकहरुले कर्जाको फाइल समेत रोकेका छन्,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘तर, पछिल्लो व्यवस्था अनुसार बैंकहरुले सीडीको सीमा कटाएर कर्जा दिनुपर्ने भएमा भावी कार्ययोजना बनाएर व्यवसाय गर्नु पर्ने हुन्छ । यद्यपि २०७९ असार मसान्तसम्म भने बैंकहरुले ९० प्रतिशत कै सीमामा सीडी कायम गरिसक्नु पर्छ ।’

क्रमिक रुपमा घटाउँदै नजाने बैंकलाई २०७९ असार मसान्तमा एकैपटक ९० प्रतिशत कायम गर्ने समस्या हुने उनको भनाइ छ । राष्ट्र बैंकले दिएको सीडीको सहुलियतमा पनि सीमा कटाएर व्यवसाय गरेमा सीमा ल्याउनका लागि कार्ययोजना बनाएर सोही अनुसार नै रेसियो ९० प्रतिशतमा झर्नु पर्ने उनको भनाइ छ ।

‘सीमा कटाए व्यवसाय गरेको हो भनेपनि असार मसान्तभित्र ९० प्रतिशत कसरी ल्याउने हो त्यो कार्ययोजना बनाउनु पर्छ, राष्ट्र बैंकमा जानकारी गराउनु पर्छ । कार्यान्यवन भएनभएको निगरानी राष्ट्र बैंकले गर्छ,’ उनले थपे, ‘सीडी रेसियो कटेका बैंकहरुले ग्राहकसँग निक्षेप संकलन गर्न नसकेपनि बैंकहरुले अन्य माध्यमबाट कर्जा दिन सक्छन्, तर, यसले सीडी रेसियो बढाउँछ त्यसलाई घटाउँन स्रोतको सुनिश्चता कार्ययोजनामा राखी राष्ट्र बैंक पेश गर्नु पर्छ ।’

पास भइसकेको कर्जाको भुत्तान गर्न वा अत्यावश्यक किसिमका नयाँ कर्जा बैंकहरुले भविष्यमा निक्षेप आउने सुनिश्चत भएर पछि सीडी रेसियो कटाएर प्रवाह गरेको उनको भनाइ छ ।

राष्ट्र बैंकले चालु आर्थिक मौद्रिक नीतिमार्फत् यसअघि लागू ८५ प्रतिशतको कर्जा–पुँजी–निक्षेप (सीसीडी) रेसियोलाई खारेज गरी ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको हो ।

तोकिएको सीडी रेसियो २०७९ असार मसान्तसम्म सीमामा ल्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन हो । यद्यपि बैंकहरुले तोकिएकै ९० प्रतिशत सीडी कायम गरी कारोबार गर्नु पर्ने हुन्छ । तर, बैंकहरुले भने सीडी रेसियो कार्यान्वयनमा सहुलियत माग्दै आएका थिए ।

अहिले नै तोकिएको सीडी रेसियो कायम गर्दै व्यवसाय गर्न समस्या भएको हुँदा क्रमिक रुपमा त्यसको पालना गर्न पाउनु पर्ने माग बैंकहरुको थियो । जुन मागलाई राष्ट्र बैंकले मंसिर १० गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत् सम्बोधन गरेको छ । राष्ट्र बैंकले भावी कार्ययोजना बनाएर तोकिएको सीडी रेसियो कटाएर व्यवसाय गर्न पाउने छुट दिएको हो ।

बैंकहरुले सीडी रेसियो कटेपनि खुद तरलता अनुपातको सीमा नकटेका बैंकहरुलाई कर्जा दिन समस्या नभएको सानिमा बैंकका सीइओ समेत रहेका बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहाल बताउँछन् ।

‘डिबेञ्चर हटाएर सीडी गणना गर्दा हाम्रो पनि ९० प्रतिशत माथि नै रेसियो पुग्छ, तर डिबेञ्चर गणना गर्न पाउने हुँदा हामी थप कर्जा दिन सक्ने अवस्थामा सीडी ९० प्रतिशतभन्दा तल नै छौंँ,’ सीइओ दाहालले सिंहदरबारसँग भने, ‘सीडी रेसियो अहिले राष्ट्र बैंकले जतिपनि जान दिएकै छ । एलडी रेसियो २० प्रतिशतभन्दा तल भएका बैंकहरुलाई भने कर्जा दिन समस्या हुन्छ ।’

राष्ट्र बैंकले खुद तरलता अनुपात (एलडी रेसियो) २० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुको औषत एलडी रेसियो २१ प्रतिशत भएको कारणले ३÷४ वटा बाहेक धेरै बैंकलाई कर्जा दिन समस्या भएको उनको अनुमान छ ।

कसको सीडी रेसियो कति ?

राष्ट्र बैंकले सीडी कार्यन्यवनमा सहुलियत दिएपछि बैंकहरुले ९० प्रतिशतको दायरालाई बिर्सिएर सतप्रतिशत नै रेसियो पुर्‍याउन थालेका छन् ।

सीमा कटाएका बैंकहरुमध्ये पनि कृषि विकास बैंक र बैंक अफ काठमाण्डूको शतप्रतिशत छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको ९८.१९ प्रतिशत, कुमारी बैंकको ९७.५२ प्रतिशत, सिभिल बैंकको ९६.६१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९५.९२ प्रतिशत र नेपाल बैंकको ९५.६८ प्रतिशत सीडी रेसियो कायम छ ।

साथै, अन्य १६ वटा वाणिज्य बैंकको सीडी रेसियो सीमाभन्दा माथि ९५ प्रतिशतसम्म पुगेको छ ।

मंसिर १६ गतेसम्म सीडी रेसियो ९० प्रतिशत माथि ९५ प्रतिशसम्म हुनेमा प्राइम ९४.५७ प्रतिशत, एनसीसी ९३.८९ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९३.४८ प्रतिशत, सिटिजन्स ९२.९३ प्रतिशत, सेञ्चुरी ९२.९० प्रतिशत, मेगा ९२.७३ प्रतिशत र माछापुच्छ्रे बैंकको ९२.५८ प्रतिशत सीडी रेसियो पुगेको छ ।

मंसिर १६ गतेसम्म एनएमबिको ९२.३९ प्रतिशत, लक्ष्मीको ९२.२६ प्रतिशत, हिमालयनको ९२.१६ प्रतिशत, सनराइजको ९१.५२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ९१.९४ प्रतिशत सीडी रेसियो पुगेको छ ।

साथै, सो अवधिमा सानिमा बैंकको ९०.९१ प्रतिशत, सिद्धार्थको ९०.९१ प्रतिशत, नबिलको ९०.६३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९०.४५ प्रतिशत सीडी रेसियो पुगेको छ ।

यी बैंकहरुले थप निक्षेप संकलन नै नगरी पास भइसकेको कर्जा भुक्तान गर्दा सीडी करिब ९० प्रतिशत कटेको पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्