Shikhar Insurance

बैंकले लिए सेयर बजारबाट साढे ६ अर्ब कर्जा फिर्ता, सीमाभन्दा बढी ऋण लिने लगानीकर्तालाई सकस

दिलु कार्की
२०७८ पुष १, बिहीबार १९:१७
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्त कम्पनीले सेयर धितो राखेर दिएको साढे ६ अर्ब रुपैयाँ कर्जा लगानी फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्त कम्पनीले सेयर धितोमा राखेर दिएको ६ अर्ब ५६ करोड रुपैयाँ कर्जा फिर्ता लिएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितोमा दिएको कर्जालाई तोकिएको सीमामा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको नीति ल्याएर २०७९ असार मसान्तसम्मको समय तोकेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले एक ऋणीलाई ४ करोड रुपैयाँसम्ममात्र सेयर धितोमा कर्जा दिन पाउँछन् भने एक ऋणीले बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र यस्तो कर्जा लिन मिल्छ । यदी तोकिएको सीमाभन्दा बढी सेयर धितोमा कर्जा प्रवाह भएको भए ०७९ असार मसान्तसम्म फिर्ता लिनु पर्ने बाध्यता बैंक तथा वित्तीय संस्थालाई हो भने ऋणीले फिर्ता दिनु पर्ने बाध्यता छ ।

केन्द्रीय बैंकले गत साउन २९ गते मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको थियो । उक्त समयसम्म बैंक तथा वित्त कम्पनीहरुले कुल १ खर्ब ८ अर्ब ५१ करोड १५ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले कात्तिक मसान्तसम्म यस्तो कर्जा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँमा सीमित गरेका छन् । सेयर धितोमा प्रवाहित कर्जा एक वर्षभित्र तोकिएको सीमामा ल्याउने पर्ने बाध्यता भएसँगै बैंक तथा वित्त कम्पनीले ३ महिनामै साढे ६ अर्ब रुपैयाँ फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

तोकिएकै समयमा सीमा भित्र कर्जा ल्याउन बैंकलाई राष्ट्र बैंकको ताकेता

बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोमा कर्जा दिएको भए २०७८ साउन २९ मा सीमामा ल्याइसक्नु पर्ने हुन्छ । यद्यपि तोकिएको सीमाभन्दा कम कर्जा दिएका बैंकहरुले भने धितो मुल्यांकनको आधारमा थप सेयर कर्जा दिन पाउँछन् ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा दिएको निर्देशन बैंकहरुले पालना नगेको निगरानी गरिरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘दिइएको निर्देशनको पालना बैंक र ऋणी दुवैले गर्नै पर्छ, यसमा केही सहुलियत हुँदैन,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘अहिले बैंकहरुलाई क्रमिक रुपमा सीमा भित्र कर्जा ल्याउन समय दिइएको छ, सो पालना भएनभएको सम्बन्धित बैंक सुपरिवेक्षणले फिल्ड सुपरिवेक्षणको क्रममा हेरिरहेको छ । सीमाभन्दा माथि गएका कर्जा नघटाउका बैंकहरुलाई घटाउन भनिरहेका हुन्छौं ।’

२०७९ असार मसान्तसम्म राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्था लगाएत ऋणी ऐन कानुन उल्लघंन गर्दा पर्ने कारबाहीमा पर्ने उनको भनाइ छ ।

सेयर धितो राखेर बैंक तथा वित्त कम्पनीबाट बजार मूल्य वा १८० दिनको भारित औषत मूल्य मध्ये जुन कम हुन्छ त्यसको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ । उक्त व्यवस्थामा रहेर गत असार मसान्तसम्म ८ हजार ५६४ जनाले बैंक तथा वित्त कम्पनीबाट कुल १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिएका थिए ।

जसमध्ये ८ हजार ५३ जनाले ४ करोड रुपैयाँभन्दा कम सेयर धितोमा कर्जा लिएका हुन् । गत असार मसान्तसम्म सेयर धितोमा कर्जा लिनेमध्ये ३ सय ९९ जना ऋणीलाई मात्र तोकिएको समयमा बैंकमा कर्जा सेटलमेन्ट गर्नु पर्ने बाध्यता छ ।

३ सय ९९ जनालाई कर्जा फिर्ताको बाध्यता, लगानीकर्ता भन्छन्ः नवीकरण हुनपर्छ

ठूलो पमिाणमा सेयर धितो लिएरका ऋणीलाई एक पटकसम्म कर्जा नवीकरण गर्न दिनुपर्ने नेपाल इन्भेष्टस फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ् ।

‘अहिले बैंक ताकेता लगाइ रहेका छन्, करोडौं कर्जा लिएर लगानी गरिसकेकाहरुलाई सेटलमेन्ट गर्न समस्या परिरहेको छ,’ फोरममा पूर्व अध्यक्ष रौनियारले सिंहदरबारसँग भने, ‘एक पटकलाई राष्ट्र बैंकले नवीकरण गर्न पाउने मौका दिनु पर्छ नभए तोकिएको समयमा सीमा भित्र कर्जा सेटलमेन्ट गर्न सम्भव देखिँदैन ।’

राष्ट्र बैंकले बैंकहरुलाई एक पटकका लागि ६ महिनासम्मको लागि सेयर धितोमा गएको कर्जा नवीकरण गर्न दिएमात्र ऋणीले सहज तबरले ऋण फिर्ता दिन सक्ने उनको भनाइ हो ।

‘बैंकले त राष्ट्र बैंकको निर्देशन पालना गर्न जसरी भएपनि ऋण उठाउनै पर्छ, सीमाभन्दा माथि गएको कर्जालाई एक पटकसम्म नवीकरण गर्न पाउने व्यवस्था गरिदिनु पर्यो भनेर राष्ट्र बैंकमा भनिरहेका छौं,’ उनले भने ।

असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले प्रवाहित सेयर धितो कर्जामा १० जना ऋणीले ५० करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म सेयर धितोमा कर्जा लिएका थिए । ठूलो परिमाणमा सेयर कर्जा बैंकमा फिर्ता गर्दा बजारमा नकारात्मक प्रभाव देखिन थालेको ती नै ऋणी लगानीकर्ताहरु बताउँछन् ।

सेयर धितोमा बजारबाट १ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिनेमध्येका सेयर बजारका बादशाह निर्मल प्रधान एक हुन् । उनले गत असार मसान्तसम्म सेयर धितो राखेर १ अर्ब ९६ करोड रुपैयाँ कर्जा लिएका थिए ।

राष्ट्र बैंकको नयाँ सेयर कर्जा नीतिले गर्दा तोकिएको समयमा कर्जा फिर्ता दिँदा सेयर बजारमा नकारात्मक प्रभाव पर्ने प्रधान बताउँछन् ।

‘सेटलमेन्ट गर्न समस्या आफ्नो ठाँउमा छ, हामीले त तिर्नु नै पर्ने भएपछि कर्जा लिएर जहाँ लगानी गरेको हो त्यही बिक्री गरेर फिर्ता दिन्छौं,’ प्रधानले सिंहदरबारसँग भने, ‘ठूला लगानीकर्ताले एकै पटक करोडौं रुपैयाँ बराबरको सेयर बिक्री गर्दा सेल्सको ट्रेण्डमा साना लगानीकर्ता पर्छन् ।’

लगानीमा रहेको सेयर बिक्री गरी बैैंकमा कर्जा फिर्ता गर्दा कम्पनीको मूल्यमा उतार चढाब हुँदा साना लगानीकर्ता प्रभावमा पर्ने उनको भनाई छ ।

‘मैले बैंकमा बुझाउनु पर्ने पैसा बुझाइ रहेको छु, सेयर बिक्री गरेर पैसा फिर्ता दिन समस्या छैन तर, ठूलो परिमाणमा सेयर बिक्री हुँदा यसको प्रभाव अरुलाई के पर्छ भनेर सम्बन्धित निकायले बुझ्न आवश्यक छ,’ उनले भने ।

वाणिज्य बैंकले दिए ८६ अर्ब बढी सेयर धितो कर्जा, १७ वाणिज्य बैंकले फिर्ता लिँदा ८ वटाले थपे

सीमाभन्दा बाहिर सेयर धितो कर्जा दिएका बैंक तथा वित्त कम्पनीले क्रमशः कर्जा फिर्ता लिइरहेका छन् । तर, सीमाभन्दा कम कर्जा दिएकाहरुले बैंक वित्त कम्पनीहरुले भने राष्ट्र बैंकको निर्देशन पछि समेत कर्जा थप गरिरहेका छन् ।

राष्ट्र बैंकले साउन २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जा तोकिएको सीमामा ल्याउन भनेपछि १७ वटा बैंकले घटाएका छन् । बाँकी ८ वटा वाणिज्य बैंकले भने साउन मसान्तमा दिएको कर्जामा कात्तिकमसान्तसम्म थप गरेका छन् ।

साउन मसान्तसम्म वाणिज्य बैंकहरुले ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । जसलाई घटाएर कात्तिक मसान्तमा ८६ अर्ब १५ करोड ९२ लाख रुपैयाँ कायम गरेका छन् । यसबीच वाणिज्य बैंकहरुले ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर्जा फिर्ता लिएका हुन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो कर्जा प्रवाह नगर्ने तथ्यांकले देखाउँछ ।

सेयर धितोमा कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरुमा कात्तिक मसान्तसम्म सबैभन्दा बढी ग्लोबल आइएमई र सबैभन्दा थोरै कृषि विकास बैंकले प्रवाह गरेका छन् ।

ग्लोबल आइएमईले कात्तिक मसान्तसम्म ७ अर्ब ७८ करोड २५ लाख रुपैयाँ र कृषि विकास बैंकले ७८ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोबल पछि नबिल बैंकले ७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ सेयर धितो लिएर कर्जा प्रवाह गरेको छ ।

यसबाहेक ११ वटा बैंकले ३ अर्ब रुपैयाँदेखि ७ अर्ब रुपैयाँसम्म, अरू ११ ले १ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

साउन मसान्तमा दिएको सेयर धितो कर्जामा सबैभन्दा बढी एनआएसी एशिया र सबैभन्दा थोरै सानिमा बैंकले घटाएका छन् । सो अवधिमा एनआईसी एशियाले १ अर्ब ५० करोड ३३ लाख रुपैयाँले घटाएर ३ अर्ब ९ करोड ७१ लाख रुपैयाँ र सानिमा बैंकले १२ करोड ६० लाख रुपैयाँले घटाएर २ अर्ब ८ करोड ५७ लाख रुपैयाँ कायम गरेका हुन् ।

एनआइसी एशियापछि सबैभन्दा सेयर धितो कर्जा घटाउने बैंक सिद्धार्थ हो । बैंकले भदौ, असोज र कात्तिक महिनामा १ अर्ब २९ करोड ७३ लाख रुपैयाँ घटाएर ५ अर्ब १ करोड ७९ लाख रुपैयाँ कायम गरेको छ ।

यसबाहेक ११ वटा बैंकले १ अर्ब रुपैयाँदेखि ३० करोड रुपैयाँसम्म र ४ वटाले २० करोड रुपैयाँभन्दा कम सेयर धितो कर्जा घटाएका हुन् ।

 

विकास बैंकहरुले लिए ८८ करोड फिर्ता, सबैभन्दा बढी मुक्तिनाथले

विकास बैंकहरुले साउन मसान्तसम्म १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । कात्तिक मसान्तमा आइपुग्दा यस्तो कर्जा १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँमा सीमित गरेका छन् । सञ्चालनमा रहेका १८ विकास बैंकहरुमध्ये १२ वटाले मात्र सेयर धितो लिएर कर्जा प्रवाह गर्छन् ।

यस्तो कर्जा दिने विकास बैंकहरुमध्ये कात्तिक मसान्तसम्म सबैभन्दा बढी मुक्तिनाथले र सबैभन्दा कम ग्रिन डेभलपमेन्ट बैंकले प्रवाह गरेका छन् । सो अवधिमा सेयर धितोमा मुक्तिनाथले २ अर्ब ३० करोड २२ लाख रुपैयाँ र ग्रिन डेभलपमेन्टले ४७ लाख रुपैयाँ कर्जा दिएको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जा तोकिएको सीमामा ल्याउन भनेपछि ८ वटा विकास बैंकले ४ करोड रुपैयाँदेखि २९ करोड रुपैयाँसम्म घटाएका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथले २५ करोड २७ लाख रुपैयाँ र सबैभन्दा थोरै महालक्ष्मी विकास बैंकले ४ करोड ९७ लाख रुपैयाँले घटाएको हो । सो अवधिमा सिन्धु विकास, साइन रेसुङ्गा, सप्तकोशी विकास र ग्रिन डेभलपमेन्ट बैंकले भने यस्तो कर्जा थप गरेका छन् ।

 

फाइनान्स कम्पनीले दिए २५ करोड रुपैयाँ थप सेयर धितो कर्जा

फाइनान्स कम्पनीहरुले भने करिब २५ करोड रुपैयाँ सेयर धितोमा थप कर्जा दिएका छन् । गत साउन यता कात्तिक मसान्तसम्म २४ करोड ९३ लाख रुपैयाँले सेयर धितो कर्जा फाइनान्स कम्पनीहरुले थप प्रवाह हुन् । गत साउन मसान्तसम्म ३ अर्ब १८ करोड ३५ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका फाइनान्स कम्पनीहरुले कात्तिक मसान्तसमम ३ अर्ब १२ करोड ४७ लाख रुपैयाँ पुर्याएका छन् ।

सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमा १४ वटाले मात्र सेयर धितोमा कर्जा दिने गरेका छन् । कुल सेयर धितो कर्जा थप भएको भएपनि सो अवधिमा ३ वटा फाइनान्स कम्पनीले भने कर्जा घटाएका छन् । जसमा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले १७ करोड ८७ लाख, आइसीएफसी फाइनान्सले १५ करोड ७४ लाख र श्री फाइनान्सले २ करोड ७१ लाख रुपैयाँले सेयर धितोमा गएको कर्जा फिर्ता लिएका हुन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्