Shikhar Insurance

“जीतेपछि उम्मेदवारले सात तलामाथिबाटै चिन्दिनँ भन्छन्’’

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार २०:१४
NIMB
Nabil Bank

काठमाडौँ । “भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्”, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भनिन् । काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी ७७ वर्षीया उनले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई जीतेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिइन् ।

जीत जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झै गर्छन् त्यसैगरी विकासको काममा  जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोस पनि व्यक्त गरिन् । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उनको गुनासो थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिएहुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाएन् । वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गरिन् । “मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उनले भनिन् ।

वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौँ सहरको फोहर दीर्घकालिनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याएहुन्थ्यो, जसले जीते पनि नगरवासीको फाइदाका लागि काम गर्नुस् उनले शुभकामना दिँदै भनिन् । यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भने, “नेताको व्यवहार निर्वाचनअघिकै झैँ भए नगरको मुहार फेरिथ्यो ।”

मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उनले सो कुरा बताएका हुन् । विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि निर्वाचनअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् ।

पहिलो पटक स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न भएको हो । सरकारले गत माघ २४ गते आजका लागि निर्वाचन निर्वाचनको तयारी गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएकामा यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्