Shikhar Insurance

‘अर्थतन्त्रलाई नपच्ने निर्णय’ भन्दै २ दिन बिदा फिर्ता लिन सर्वत्र दबाब, शुक्रबार समीक्षा वैठक (टिप्पणीहरू)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १७:४४
NIMB
Nabil Bank

काठमाडौं । आज जेठको दोस्रो आइतबार । चैत–वैशाखका आइतबार झैं यो आइतबार बाटोमा सवारीसाधनको भिड देखिएन ।

सरकारी कामकारबाही सञ्चालन भएनन् । निजी कार्यालयहरु भने केहीको संख्यामा खुले । धेरै जसो निजी तथा आवासीय विद्यालयहरु पनि सञ्चालनमा आए । धेरैजसो सामुदायिकतर्फका विद्यालयमा पढाइ भएनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीय तह निर्वाचनको पर्सिपल्ट भएकाले नतीजाकै प्रतिक्षामा जेठको पहिलो आइतबार बितेको थियो ।

सधैं बिहान ९ बजे कार्यालय हिँड्न ठीक्क परेर बसेकाहरु आइतबार कसरी दिन कटाउने भन्ने नै अन्योलमा रहे । त्यसो त थप एकदिनको बिदाले आन्तरिक पर्यटन प्रबद्र्धन हुने र अर्कातर्फ इन्धन खपत घटाउने दुई लक्ष्य आफैंमा बिरोधाभाषापूर्ण देखिन्छ ।

पछिल्लो विभिन्न समय सरकारी निकाय, स्थानीय तह तथा निजी क्षेत्रले समेत २ दिन बिदा दिने सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै पालना गर्न नसक्ने जानकारी गराइसकेका छन् ।

उनीहरुले साबिककै अवधिमा कार्यालय तथा नियमित गतिविधि जारी राख्न आफू मातहतमा निर्देशन जारी गरिसकेका छन् । त्यसो गर्नेमा भक्तपुर नगरपालिका, त्रिभुवन विश्वविद्यालय, वीरसहित सरकारी अस्पतालहरू, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, प्याब्सन, एनप्याब्सन आदि हुन् ।

भक्तपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, वीरेन्द्रनगर नगरपालिकाले आफ्ना विद्यालयहरु दुई दिन बिदा दिन नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर बिग्रने भन्दै आइतबार पनि पढ्न बोलाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने भनि पत्राचार गरिसकेको छ ।

वीरसहितका दर्जन बढी सरकारी अस्पतालहरुले आइतबार पनि ओपीडी खोल्ने निर्णय गरिसकेका छन् । निजी तथा संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन र एनप्याबसनले दुई दिने बिदाले शैक्षिक प्रणालीलाई आघात पुर्‍याएको भन्दै दुई दिन विद्यालय बन्द गर्न नसक्ने धारणा राखिसकेका छन् ।

यसरी दुई दिने बिदाले सबैभन्दा बढी प्रभावित शिक्षा र स्वास्थ्य क्षेत्र बनेको छ । स्वास्थ्यकर्मीले त दुई दिने बदा अव्यहारिक भएको जानकारी सरकारलाई गुनासो गरिसकेका छन् । अत्यावश्यक प्रकृतिको सेवा प्रदान गर्नेका लागि दुई दिने बिदा लागु नहुने संकेत पाएपछि विभेद हुने गुनासो प्राप्त भइरहेको छ ।

निजी क्षेत्रका छाता संस्थाहरुले औपचारिक रुपले दुई दिन सार्वजनिक बिदा दिन नहुने धारणा नराखेको भए पनि अनौपचारिक रुपले त्यस्तो निर्णयले देशको उन्नति नहुने बताउँदै आएका छन् ।

यसो त देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाले पनि सार्वजनिक बिदा दिने भएको छ । महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको हो । महानगरको राजस्व विभाग र वडा कार्यालयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने भएका छन् ।

यसैबीच देशमा रहेका सरकारका विश्वविद्यालयहरुलेनै दुई दिन बिदा दिने निर्णयले उल्टो नतिजा दिने भएकोले कार्यन्वयन नगर्ने निर्णय गरेका छन् । देशमा संचालित सबै विश्वविद्यालयहरुले आ–आफनो बिश्वविद्यालयभित्र छलफल गरि दुई दिनको बिदाले ठूलो शैक्षिक क्षती हुने भएकोले बिदा नदिने निर्णयमा पुगेको जनाएका छन् ।

विश्वविद्यालयहरुमा पहिलेदेखिनै पाठ्यक्रमले तय गरे अनुसार पाठ्यभार ६ दिनको भएको र त्यही अनुसार परीक्षा, कक्षाभार, शैक्षिक क्यालेन्डर तय भएकोले दुई दिन बिदा दिएर  पाठ्यभार ५ दिनमा पुरा गर्न असहज भएकोले आइतबार थप बिदा दिन नमिल्ने उनीहरूको दाबी छ ।

२ दिन बिदाले अर्थतन्त्रको हीत गर्दैन भन्ने उद्योगी व्यवसायी र सर्वसाधारणहरू एकमत छन् । उनीहरूले सरकारको यो निर्णयलाई अव्यवहारिक र ‘अर्थतन्त्रलाई नपच्ने निर्णय’ भनेका छन् । सिंहदरबारले २ दिन अघि दुई दिन सार्वजनिक बिदा दिने निर्णयले काम गरेन, फिर्ता लिने ‘मुड’मा सरकार भन्ने समाचार सम्प्रेषण गरेयता सिंहदरबारको वेबसाइट र फेसबुक पेजमा प्रत्यक्ष प्रतिक्रिया दिँदै फिर्ता लिनुपर्ने निर्णयलाई ठीक भनेका थिए ।

उद्योग वाणिज्य संघ वीरगञ्जका पुर्व अध्यक्ष अशोक टेमानीले दुई दिने बिदा नेपालको माटो सुहाउँदो  नभएको प्रतिक्रिया दिएका छन् । यो व्यवस्था फिर्ता नगरे अर्थतन्त्र ठूलो दुर्घटनामा जाने दाबी गरेका छन् ।

उद्योगी प्रबलजंग पाण्डेले शनिबार र आइतबार बिदा दिने निर्णय गर्दा यसले देशको अर्चतन्त्रमा कस्तो असर पर्छ भनेर मुल्यांकन समेत नगरेको आफूले देखेको बताए । नगन्य मात्रमा इन्धनको खपत जोगाउने नाममा अर्थतन्त्रमा कति घाटा भइरहेको भन्ने अध्ययन गरिनुपर्ने उनले जिकिर गरे । “सरकारी सेवा लिनुपर्ने सेवाग्राहीलाई कति असर पर्छ भनेर मूल्यांकन भयो त ?” उनको प्रश्न छ ।

यस्तै प्रबलका दाजु तथा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले पनि दुई दिन बिदा दिने निर्णय अव्यहारिक भनेका छन् ।

कन्हैया प्रधानले सिंहदरबारले सम्प्रेषण गरेको समाचारमा टिप्पणी गरेका छन्, “सातमा २ दिन बिदा दिने निर्णय ब्लन्डर गल्ती हो । नयाँ व्यवस्था फिर्ता गरेर पुरानै कार्यान्वयनमा लयाउन सरकारलाई अनुरोध छ ।” उनले कर्मचारीहरू कार्यालय अवधिमै ध्यान दिएर काम गरेका छैनन् भन्दै प्रधानले कार्यालय अवधिमा पूर्ण दक्षताका साथ काम गर्न अनुरोध गरेका छन् ।

डेनि केसीले बिदा दिने निर्णयलाई ठीक मान्दै विदेशी शैली अपनाउँदै २ दिन बिदा दिने सरकारले हरेक क्षेत्र चौबिसै घन्टा खुलाउने निर्णय गर्न चुनौती दिए ।

गजेन्द्रमान श्रेष्ठले टिप्पणी गरेका छन्, “हप्ताको २ दिन बिदा गर्ने सरकारि निर्णय दिमागी फजुल हो ।” सरकार आफैं अनावश्यक अगाडि पछाडि सुरक्षाका नाउँमा प्रहरी गाडि दौडाउने आरोप उनले लगाए ।

सामाजिक सञ्जालमा सेयर भएका सिंहदरबारका समाचारमा पनि सर्वसाधारले २ दिनको निर्णयलाई गलत भनेका छन् ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने र शुक्रबार पुरै दिन काम गर्ने भनेको थियो । त्यसँगै कार्यालय समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म निर्धारण गरेको थियो ।

यसो त सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरावलोकन गर्ने तयारी थालेको छ । सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले सञ्चारमाध्यममा सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएको बताएका छन् ।

अधिकारीले सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा अर्को साता फेरि समीक्षा हुने बताएका छन् ।

सरकारको यो निर्णय आइतबार दोस्रोपटक लागु भएको हो । अघिल्लो साताको मंगलबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय खुलेका थिए । ती ४ दिन कर्मचारीबाट बिहान साढे ९ देखि साँझ साझे ५ सम्मको कार्यालय अवधि मान्न तयार देखिएका थिएनन् । सरकारी कर्मचारीहरू बिहान १० बजे पुगेर साँझ ५ बजे नै फर्किइसकेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्