Shikhar Insurance

बीमा कम्पनीहरुमा क्रस होल्डिङको नालीबेली, क–कसको मर्जर सजिलो ?

दिलु कार्की
२०७९ जेष्ठ २७, शुक्रबार ११:४५
NIMB
Nabil Bank

काठमाडौं । नयाँ कम्पनीहरु थपिएसँगै बीमा कम्पनीहरुमा क्रस होल्डिङको समस्या उब्जिएको हो । चिरञ्जीवि चापागाईं अध्यक्ष भएर आएपछि उनले १० वटा जीवन र ३ वटा निर्जीवन गरी १३ वटा कम्पनीलाई लाइसेन्स बाँडेका थिए ।

चापागाईंले लाइसेन्स दिएका नयाँ बीमा कम्पनीहरुमा लगानी गर्ने अधिकांश ठूला लगानीकर्ताको अन्य कम्पनीहरुको संस्थापक सेयरमा लगानी छ । यसको निक्र्यौलमा समिति ५ वर्षअघिदेखि नै लागेको हो । तर, क्रस होल्डिङको समस्याको समाधानको बाटो भने समितिले अहिले बल्ल भेटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत चैत १० गते कम्पनीहरुको चुक्ता पुँजीमा १ सय ५० प्रतिशतसम्मले थप गर्ने निर्देशन दिएर समितिले त्यसमा मर्जर र प्राप्तिको बाटोलाई प्राथमिकतामा राखेको छ । हकप्रदको बाटो रोक्दै समितिले अहिले क्रस होल्डिङको तथ्यांक हेरी मर्जरमा जान व्यक्तिगत रुपमा लगानीकर्ता र कम्पनीलाई नै पत्राचार गरी छलफल चलाइरहेको छ ।

वि.सं. २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्न समितिको निर्देशन हो । यसअघिसम्म जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको थियो ।

समितिले अघोषित रुपमा फोर्स मर्जर नीति अवलम्बन गर्दै हाल कम्पनीहरुलाई नयाँ कर्मचारी थप्न समेत रोक लगाइसकेको छ भने तोकिएको पुँजी पुर्याउन हकप्रद समेत बन्द गरेको छ । बोनस सेयरको मात्र बाटो देखाएर समितिले कम्पनीहरुलाई क्रस होल्डिङ अनुसार मर्जर गराइ छाड्ने स्वयम् समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल बताउँछन् ।

पुँजी वृद्धिको योजना संख्या घटाएरै कम्पनीको क्षमतामा वृद्धि गर्नका लागि ल्याइएको पौडेलको भनाइ छ । समितिको पुँजी वृद्धिको योजनामा १९ को संख्यामा रहेको जीवन बीमा कम्पनीहरु १० को हाराहारी र २० वटाको संख्यामा रहेको निर्जीवन बीमा कम्पनीहरु १०/११ को हाराहारीमा आउन सक्ने अपेक्षा उनको छ ।

‘समितिले पुँजी वृद्धि योजना कम्पनीको संख्या घटाउनै ल्याएको हो, आईपीओ जारी नगरेका कम्पनीबाहेक अन्यलाई पुँजी पुर्याउन हकप्रदको बाटो बन्द गरेका छौं,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘विकल्प भनेको मर्जरकै बाटो हो, बोनस सेयर जारी गरेर कुनै पनि कम्पनीले १ वर्ष भित्रमा तोकिएको पुँजी पुर्याउन सक्दैनन् ।’

बैंक तथा वित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिको योजना ल्याए पनि हकप्रदको बाटो खुला गर्दा उद्देश्य अनुरुप बैंकको संख्या घटाउन नसकेको हुँदा बीमा समितिले त्यो गल्ती नदोहोर्याउने उनको भनाइ छ ।

‘समितिले कम्पनीहरुको पुँजी वृद्धि गर्ने प्रारम्भिक अध्ययन गर्दा राष्ट्र बैंकले नै हकप्रद दिएर आफूले गरेकाले सो गल्ती नगर्न सुझाएको थियो,’ उनले थपे ‘त्यसैले हामीले अहिले स्वेच्छाले मर्जर गर्छु भन्ने बाहेकका कम्पनीलाई क्रस होल्डिङ केलाएर मर्जरमा जान सुझाइ रहेका छौं ।’

सोही अनुसार अहिले कम्पनीहरुको क्रस होल्डिङको तथ्यांक केलाएर क्रस होल्डिङ भएका कम्पनीका सीईओ र सञ्चालकहरुलाई एकै ठाँउमा एकै पटक बोलाएर पुँजी वृद्धिको प्रोगेस र आगामी कार्ययोजना सोध्दै आपसमा मर्जर हुन सुझाइरहेको हो । हालसम्म जीवन बीमा कम्पनीहरुतर्फ गुराँस, प्राइम र युनियन लाइफले आपसमा मर्जरको सम्झौता गरिसकेका छन् भने निर्जीवनतर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् ।

समितिले ५ वर्षअघि देखि नै कम्पनीहरुको क्रस होल्डिङको तथ्यांक खोजेको थियो । पछिल्लो पटक पुँजीवृद्धिको नीति ल्याएसँगै समितिले पुनः क्रस होल्डिङको प्रारम्भिक तथ्यांक तयार पारेको छ । सोही तथ्यांक अनुसार नै समिति अहिले मर्जरको प्रक्रिया सुरु गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र अन्य संचालकहरुलाई बोलाएरै छलफल गराइरहेको छ । अहिले संस्थागत तथा व्यक्तिगत गरी १ प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका कम्पनीहरुलाई आपसमा मर्जर गराउने समितिले कसरत गरेको हो ।

बीमा कम्पनीहरुको आपसी क्रस होल्डिङ, कुन कम्पनीको कसको कति लगानी ?
समितिले तत्कालै बीमा कम्पनीहरु बीच नै पनि एकअर्कामा गरेको लगानीको आधारमा मर्जरको सुझाव दिइरहेको छ । एक बीमा कम्पनीले अर्को बीमा कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गरेको आधारमा समितिले मर्जरको कसरत गराउन खोजेको हो । जसमा ८ निर्जीवन बीमा कम्पनीमा ६ वटाको र ६ वटै जीवन बीमा कम्पनीमा ४ वटा जीवन बीमा कम्पनीको प्रत्यक्ष लगानी छ ।

१) जीवन बीमा कम्पनीहरुतर्फ
नेपाल लाइफ इन्स्योरेन्सले एलआइसी नेपालमा २५ प्रतिशत र सुर्या लाइफमा ३० प्रतिशतभन्दा बढी सेयर लगानी गरेको छ । साथै, नेपाल लाइफ इन्स्योरेन्समा एशियन लाइफको ५.०४ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै, सन नेपाल लाइफले सिटिजन लाइफमा १.३६ प्रतिशत र ज्योति लाइफमा १.१६ प्रतिशत सेयर लगानी गरेको छ । साथै, आईएमई लाइफ इन्स्योरेन्समा १० प्रतिशत सेयर स्वामित्व छ ।

२) निर्जीवन बीमा कम्पनीहरुतर्फ
अजोड इन्स्योरेन्सले जनरल इन्स्योरेन्समा ३.५२ प्रतिशत र नेपाल इन्स्योरेन्सले पु्रडेन्सियल इन्स्योरेन्समा २.११ प्रतिशत सेयर लगानी गरेको छ । साथै, शिखर इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्समा ३.२४ प्रतिशत र सिद्धार्थ इन्स्योर्न्समा २.८ प्रतिशत सेयर लगानी गरेको छ ।

यस्तै, नेको इन्स्योरेन्सले एनएलजीमा २ प्रतिशत र युनाइटेड इन्स्योरेन्समा ५ प्रतिशत सेयर लगानी गरेको छ । साथै, लुम्बिनी जनरल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्सको १.०२ प्रतिशत र जनरल इन्स्योरेन्सको १.०२ प्रतिशत सेयर लगानी छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा व्यक्तिगत क्रस होल्डिङ

जीवन बीमा कम्पनीहरुको क्रस होल्डिङ विवरण

निर्जीवन बीमा कम्पनीहरुको क्रस होल्डिङ विवरण

GBIME

प्रतिक्रिया दिनुहोस्