Shikhar Insurance

यी हुन नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो ।

विभागका अनुसार गत वर्षको उत्कृष्ट करदाताका रूपमा व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित रहेका छन् । संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दाखिला गरेको विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, निर्यात कारोबारबाट बढी आयकर तिर्नेमा श्री शिव शक्ति घ्यु उद्योग प्रालि, विशेष उद्योगतर्फ राजेश मेटल क्राफ्ट प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये ओसिबी फुड्स एण्ड फिड्स प्रालिलाई सम्मानित गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये नबिल बैंक लिमिटेड, बिमा व्यवसायमध्ये नेपाल पुनःबिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र पर्यटन व्यवसायमध्ये मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको विभागले जनाएको छ ।

त्यसैगरी वस्तु तथा व्यापारको कारोबारमध्ये हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेड, मध्यमस्तरीय करदातामध्ये नेपाल धितोपत्र विनिमय बजार लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, रेमिटेन्स तथा मनि ट्रान्सफरमध्ये आइएमई लिमिटेड र सबैभन्दा बढी कूल आन्तरिक राजस्व दाखिला गर्नेमा सूर्य नेपाल प्रालिलाई सम्मानित गरिएको हो ।

विसं २०६७ देखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गरेको कम्पनीका रूपमा गोर्खा ब्रुअरी प्रालिलाई सम्मानित गरिएको छ ।

विभागले कर दिवसका अवसरमा १० जना कर्मचारीलाई पनि सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई पनि सम्मानित गर्दै आएको छ । यस वर्ष चुनाव आचारसंहिता लागू भएका कारण विभागले सम्मान वितरण कार्यक्रम आज राखेको हो ।

विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय रहेका छन् । यस वर्षको कर दिवसको नारा ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्