Shikhar Insurance

दुई उद्योगमाथि मुद्दा दायर, ९७३ व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १७:२८
NIMB
Nabil Bank

वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ ।

नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको जनाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यालयका अनुसार चितवनमा रहेको खजुरी बिस्कुटको नेपाल प्रालि तथा याक विव्रिग कम्पनीमाथि सम्बन्धित जिल्लामा सो मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।

साथै सो कार्यालयले चालु आवको साउनदेखि फागुनसम्म नापतौल यन्त्रको नवीकरण नगराउने र अटेर गर्ने ९ सय ७३ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमाथि कारबाही गरी जरिवानासमेत गरेको छ ।

सो अवधिमा कार्यालयले तीन सय ९१ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजतपत्र समेत प्रदान गर्नुका साथै ८ सय १४ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्रको नवीकरण गरी कूल २ हजार १ सय ३२ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्रसम्बन्धी इजाजतपत्र प्रदान गरेको सो कार्यालयबाट उपलब्ध विवरणमा जनाइएको छ ।

नापतौलसम्बन्धी उपरोक्त कारोबारबाट विगत ८ महिनामा कार्यालयले ८० लाख २१ हजार आठ सय ५५ राजस्वसमेत सङ्कलन गरेको छ । रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले आज हेटौँडामा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमनको क्रममा प्रमुख दासले सो जानकारी दिए ।

चालु आवको साउन महिनादेखि फागुन महिनासम्मको उपलब्ध सो विवरणमा उक्त कार्यालयले २४ पटक एकल अनुगमन तथा २२ पटक संयुक्त अनुगमनसमेत गरेको प्रमुख दासले भने । त्यस्तै कार्यालयले उक्त अवधिमा आफ्नो कार्यक्षेत्रमा रहेको पम्पको छ सय चार नोजलको जाँच तथा तीन सय छ वटा ट्याङ्करको भेहिकल जाँचसमेत गरेको बताइएको छ ।

साथै सो कार्यालयले प्रत्येक शुक्रबारका दिन उद्योगको उत्पादन र नापतौल यन्त्रसम्बन्धी मोहबन्द प्याकेज तालिमसमेत दिँदै आएको प्रमुख दासले जानकारी दिए । नापतौल विभागले तोकेको मापदण्डविपरीत आफूखुसी उत्पादन नगर्नसमेत सचेत गराउँदै आएको छ । त्यस्तो गरेको पाइएमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको सो कार्यालयले जनाएको छ

GBIME

प्रतिक्रिया दिनुहोस्