Shikhar Insurance

किलोको ९ हजार पुगेको कुरिलो ३ सयमै पाइन थाल्यो, माग कम हुँदा आन्तरिक उत्पादनले छेलोखेलो

मिरा श्रेष्ठ
२०७९ असार ६, सोमबार १२:३१
NIMB
Nabil Bank

काठमाडौं । सिजन सुरु भएसँगै कुरिलोको मूल्य सस्तिएको छ ।

गत वर्ष असार ३ गते कुरिलो प्रतिकेजी ५ सय रुपैयाँ थियो । त्यसपछि भाउ क्रमश बढ्दै साउनमा ८ सय, भदौमा १ हजार, मंसिरमा १४ सय हुँदै माघमा प्रतिकेजी कै ९ हजारसम्म पुगेको थियो । यो वर्ष भने आम नागरिकका लागि कुरिलो अन्य तरकारीबराबर हुन नसकेपनि निकै सस्तो भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस वर्ष आन्तरिक रुपमा नै कुरिलोको उत्पादन बढेको र कोभिड कम भई स्थिति सामान्य भएलगत्तै उपभोत्ताले कम उपभोग गरेको हुँदा कुरिलोको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजारका सुचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

“गत वर्ष कोभिड– १९ का कारण स्थिती असामान्य भएकाले आयात कठिन थियो । कोरोना लागेका बिरामीलाई कुरिलोको झोल खुवाउनुपर्ने मान्यता थियो,” श्रेष्ठले सिंहदरबारसँग भने, “कुरिलोको तरकारी खाए कोरोनासँग लड्न बल पुग्ने भन्दै मानिसहरुले कुरिलो अत्यधिक प्रयोग गरेका थिए । मागमा भएको अत्यधिक वृद्धि, उत्पादनको सीमितता र अफ सिजन परेका कारण मूल्य त्यसरी बढेको थियो ।”

कुरिलोलाई औषधीको रानी मानिन्छ । यसको सेवन गर्नाले शरीरलाई शक्ति दिनुका साथै पिसाब पोल्ने समस्या हटाउने, अनिद्रा तथा भोक नलाग्ने समस्या कम गर्ने, पाचन प्रणालीमा सुधार ल्याउने, पेटको टुय्मर, घाँटीमा भएको संक्रमण निको पार्ने, स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउने गर्छ भने नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउने सम्म गर्छ । कतिपय रोगको उपचाररत व्यक्तिले कुरिलो खानु लाभदायी मानिन्छ ।

कुरिलोबाट प्रशस्त मात्रामा भिटामिन, प्रोटिनका साथै अन्य पौष्टिक तत्व पनि पाइन्छ । उल्लेखित रोगबिरुद्ध लड्न कुरिलोको जरा र काण्ड दुवै उपयोगी मानिन्छ ।

कुरिलोमा चिल्लो पदार्थ हुँदैन । यसमा कोलेस्ट्रोल र सोडियम तत्व नहुने तथा भिटामिन ए तथा भिटामिन सी फाइबर, प्रोटिन, क्याल्सियम प्रशस्त मात्रामा पाइने उपयोगी खाद्य पदार्थको रुपमा लिइन्छ । यसलाई सुप र तरकारीको रुपमा र हरियो बफाएको कुरिलो सलादको रुपमा पनि प्रयोग गरिन्छ ।

कुरिलोको जरा सुकाएर धुलो पारेर दूध तथा मनतातो पानीसँग मिसाएर सेवन गर्नाले शरीरलाई शक्ति दिनुका साथै महिनावारी गडबडीमा जस्ता समस्याहरुको लागि उपयोगी हुन्छ । यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधिको रुपमा प्रयोग गरिन्छ ।

कुरिलो एक औषधिजन्य बहुवर्षीय वनस्पती हो । यसमा धेरै काण्ड, मसिना झुपादार पात र मसिना हाँगाहरु हुन्छ । यसको फल केराउको दाना जत्रो हुन्छ । कुरुलो व्यवसायीक रुपमा नै गर्न सकिने खेती हो । यो एक पटक लगाएपछि ३/४ वर्ष सम्म फल खान पाइन्छ ।

कुरिलो खेती न्यानो र समशितोष्ण हावापानी भएको ठाँउमा गरिन्छ । यसको खेतीको लागी हिँउदमा चिसो तथा वसन्त र गृष्ममा न्यानो मौसम राम्रो मानिन्छ । कुरिलो एउटा बहुवर्षे बाली भएकोले बाह्रै महिना पानीको सुविधा भएको, प्रशस्त मात्रामा प्राङ्गारीक पदार्थ भएका बलौटे दोमट माटो र पारिलो घाम लाग्ने जमिन हुन पर्दछ । सामान्यतया माटोको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम हुनु राम्रो मानिन्छ । यसको खेतीको लागि हावापानीको औसत तापक्रम १५ देखि १८ डिग्री सेल्सियस भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ ।

गत वर्ष अफ सिजन र कोभिडको कारणले बजारमा थेरै पाइएको कुरिलो अहिले भने जताततै प्रशस्त मात्रामा पाईन्छ । गत वर्ष माग बढी र कुरिलोको आयत कम भएको कारण त्यसको फाइदा उठाउँदै व्यापारीहरुले अस्वाभाविक मूल्यमा कुरिलो बिक्री गरेका थिए । यस वर्ष भने कुरिलो व्यापारीहरु मारमा छन् । कुरिलोको सिजन सुरु भएको छ । आन्तरिक रुपमै माग भन्दा उत्पादन बढी र कोभिडको अवस्था सामान्य भएकोले कुरिलोको खपत कम भएको हो ।

१० महिनामा साढे ११ हजार किलो कुरिलो आयात
नेपालमै उत्पादन हुने गरेको भएपनि चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्तसम्म)मा साढे ११ हजार किलो कुरिलो आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार भारतबाट आयात भएको ११ हजार ५ सय १३ किलो कुरिलोको मुल्य २ लाख २० हजार ४ सय ४७ रुपैयाँ (प्रतिकिलो १९ रुपैयाँका दरले) छ ।

गत आव प्रतिकिलो साढे १२ रुपैयाँका दरले १६० किलो कुरिलो आयत भएको भन्सार विभागको तथ्यांक छ ।

निर्यात नै हुन थाल्यो कुरिलो
नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।

एस पाराका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए । उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ । आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन् । कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए । कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख आम्दानी गर्ने गरेको उनले बताए । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनको भनाइ छ ।

भरतपुर महानगरमा व्यावसायीकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए। उनले भने, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनसो गरे । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उनले जानकारी दिए। आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए । उनले भने, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”

उनले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेका हुन्। सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उनले बताए । उनले भने “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।”

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उनको गुनासो छ । उनले भने, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उनले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताए ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको वैशाखसम्म ४५ हजार ८२८ रुपैयाँ बराबरको १२ सय ५० किलो कुरिला अमेरिका निर्यात भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्