Shikhar Insurance

फुल्चोकी क्षेत्र : साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै

सिंहदरबार संवाददाता
२०८० कार्तिक २७, सोमबार १२:३२
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी–विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भए ।

मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी गरेको थियो । फुल्चोकीमा मन्त्री किराँतीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उक्त क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । फुल्चोकी एड्भेन्चर प्रालिका अध्यक्ष छविलाल हुमागाईका अनुसार “प्राधिकरणले अनुमति दिए पनि करिव एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालनको तयारी गरेका हौँ”, उनले भने ।

मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल–पर्यटन ‘हव’उन्मुख भएको हो । कुशादेवी क्षेत्रमा चार वर्षअघिनै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो ।

पटकपटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ । विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागाईले दैनिक १० प्याराग्लाइडिङले विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिए । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ ।

प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी–विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । यसअघि पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड््डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाएका थिए ।

नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता रहेको थियो । पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष उक्त क्षेत्रमा साइकल रुट निर्माण गरिएको थियो । उक्त क्षेत्रमा विसं २०७८ चैतबाट त्यस रुटमा पर्यटन प्रवद्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो । उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेलरुट तय गरिएको छ ।

उक्त ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटक साहासिक साइकल यात्राका लागिसमेत यो रुट रोज्ने गरेका छन् । फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रुपमा विकास गर्न आफूहरु नगरको योजनामा समावेदश गरी लागिपरेको पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार साइक्लिङ ट्रेलरुटमा खेल आयोजना भइरहने छन् भने थप साहसिक खेल प्याराग्लाइडिङले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् । नेपाल पर्यटन बोर्डले पनि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको छ ।

यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो ।

बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाईक (कम्यूनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र नीजि होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न आग्रह गर्दै आएको छ । रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्