Shikhar Insurance

तरकारीखेतीबाट वार्षिक २ लाख आम्दानी गर्दै बैतोडाका दलबहादुर

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १३:३३
NIMB
Nabil Bank

कञ्चनपुर । बैतोडाका दलबहादुर बोहराले चार कठ्ठा जग्गाको तरकारीखेतीबाट वार्षिक २ लाख बढी आम्दानी गर्दै आएका छन् । बेदकोट नगरपालिका–४ बैतोडाका बोहराले थोरै जग्गामा व्यावसायिक तरकारीखेती गरी सहज रूपमा घरखर्च चलाउँदै आएका हुन् ।

बाह्रै महिना बोहराको बारीमा तरकारीखेती मात्रै हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि अहिले घरखर्च चलाउन उनलाई सकस भएको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहज रूपमा चल्न थालेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बोहराले भने,“विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको १०–१२ हजार जति पर्दथ्यो । कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्केँ, फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन । मोबाइलमा युट्युब हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो ।” “तरकारी खेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो । साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो ।”उनले बताए ।

बोहराको तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ । त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमी रूपमा लगाएका छन् । तरकारी खेतीबाट आएको आम्दानी खर्च गरेर उनले दुईवटा प्लाष्टिक टनेल निर्माण गरेका छन् । आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उनले आम्दानी गर्दै आएको छ । तरकारीखेतीकै लागि उनले वर्षमा ६५ हजार बढी लगानी गर्दै आएको छ । लगानी कटाएर वर्षमा १ देखि डेढ लाखसम्म आम्दानी गरेको उनले सुनाए ।

उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्छन् । तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउँछन् । बैतोडा गाउँमा व्यावसायिक तरकारीखेती गर्ने बोहरा एक्ला किसान हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्