Shikhar Insurance

सोनाहा जातिको पीडा ‘बालुवा छान्दा पनि छाक टार्न धौ–धौ’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १३:२२
NIMB
Nabil Bank

कञ्चनपुर । सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् ।

पुख्र्यौली पेसा सङ्कटमा परेपछि बर्दियाबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा बसोबास गर्दै आएका उनीहरूकोे आर्थिक अवस्था अझै दयनीय हुँदै आएको छ । हिउँदका बेला महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर छाक टार्दै आएका उनीहरु वर्षाका बेला भने गाउँबस्तीमा ज्याला मजदुरी गरेर जीविका चलाउने गर्छन् । वडा नं १२ ओदालीका रमेश सोनाहाले लामो समयदेखि परिवारको गुजारा चलाउन महाकाली नदीको बगरमा गिट्टी कुट्नेदेखि गाउँमा मजदुरी, ट्र्याक्टरमा मजदुरी र स्कुलको होस्टेलमा भाँडा सफा गर्नेसम्मका काम गर्दै आएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले महाकालीको बगरमा मजदुरी नगरे बेलुकी चुलो बाल्न मुस्किल पर्छ उनले भने,आफूसित भएको आधा कट्ठा जग्गाको पुर्जा यतिका वर्ष बित्दा पनि हातमा परेको छैन । रमेशले स्थानीय सरकार बनेपछि पनि आफ्नो समुदायलाई उपेक्षा गरिएको दुखेसो व्यक्त गरे । जग्गाधनी पुर्जा दिन्छौँ र घर पनि बनाइदिन्छौँ भनेर झोपडीको फोटोसमेत खिचेर लगेको वर्षौं भयो”, उनले भने, “यतिका वर्षसम्म ऐलानी जग्गामा बसी बगरमा सङ्घर्ष गरेर बाँच्नु परेको छ ।”

त्यसैगरी, प्रकाश सोनाहाले पहुँचका आधारमा स्थानीय सरकारले जनतालाई सेवा दिँदै आएको आरोप लगाए । “राज्यबाट नागरिकताबाहेक केही पाएनौँ उनले भने बर्दियामा रहेका सोनाहा जातिलाई अनेकन सुविधा दिएको सुन्छौँ तर यहाँ आश्वासनबाहेक केही पनि पाइएन । प्रकाशले स्थानीय सरकारले दुईकोठे घर बनाइदिने आशा टुटेको बताए ।

बाढीका बेला भुजेला खोला र महाकालीबाट प्रताडित हुँदासमेत राहत पाएनौँ उनले भने त्यो बेला पनि दातृ संस्थाहरुले दिएको चामल र लत्ताकपडा पाएर ओत लाग्नसम्म पाइयो ।

त्यसैगरी, ऐरीकै सविता सोनाहाले महाकाली नदीमा गिट्टी, र बालुवाको भरले छाक टार्नुपरेको गुनासो गरे । राम्रोसित खटिए एक दिनमा १ हजार रुर्पैयाँसम्म कमाउन सकिन्छ उनले भने हाम्रो त मुख्य रोजगारी भनेकै बगरमा दुःख गर्नुबाहेक केही छैन । उनले दलित बालबालिकालाई राज्यले दिने सुविधा सोनाहा जातिका बालबालिकालाई पनि दिनुपर्नेमा जोड दिए ।

वडानं १२ को कार्यालय सचिब राधा भट्टले गत वर्ष तीन सोनाहा परिवारलाई वडा कार्यालयबाट जीविकोपार्जन कार्यक्रमअन्तर्गत बङ्गुर उपलब्ध गराएको बताए । उनले चालु आर्थिक वर्षमा उक्त जातिको जीविकोपार्जनकै लागि बाख्रापालनमा रु ५० हजार बजेट विनियोजन गरिएको उनको भनाइ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्