Shikhar Insurance

बजेटको अभावले गण्डकी प्रदेश प्रहरी अस्पताल अलपत्र

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १४:०२
NIMB
Nabil Bank

कास्की । पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा ४ वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपु प्रहरी र उनीहरुका परिवारको औषधि उपचार गर्ने उद्देश्यले वि.सं २०७७ मा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो ।

उक्त अस्पतालको भवन निर्माणमा ६ करोड रुपैयाँ लागतको अनुमान गरिए पनि पछिल्लो दुई आर्थिक वर्षयता गण्डकी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थ भट्टराईले भने क्रमागत रुपमा निर्माणसम्पन्न गर्ने भनिएको अस्पताल भवन निर्माणका लागि चालु आवमा १करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । एघार रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले चार वर्षदेखि टिनको टहराबाट सेवा प्रवाह गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्पताल निर्माणका लागि आज २०७७/७८मा प्रदेश सरकारले १ करोड बीस लाख छुट्याएको भए पनि त्यसपछि गत आवसम्म बजेट बिनियोजन गरिएको थिएन । नेपाल प्रहरीको आफ्नै जग्गामा जस्ता पाताले निर्माण गरिएको भवनमा अहिले दैनिक ४०–५० जनाले सेवा लिँदै आएका छन् ।

अस्पतालका कार्यालय प्रमुख तथा प्राविधिक प्रहरी नायव उपरीक्षक डा रामप्रसाद शर्माका अनुसार अस्थायी रुपमा सञ्चालनमा ल्याइएको अस्पताल भवनबाट ओपिडी, फार्मेसी, ल्याव, आपतकालीन, थेरापी, भिडियो एक्सरे, एक्सरे र सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह हुँदै आएको छ ।

निर्माणधीन अस्पताललाई क्रमागत भन्दा पनि बहुवर्षीय रुपमा निर्माण गर्ने गरी योजना बनाएको भए बजेट प्राप्त गर्न सजिलो हुने उनको भनाइ रहेको छ । पन्ध्र शय्याको उक्त अस्पतालमा प्राविधिकसहित ३३ जना कर्मचारी कार्यरत छन् । अस्पतालल भवनले पूर्णता पाएपछि ५० शय्यामा स्तरोन्नति हुनेछ ।

प्रहरी सङ्गठन कास्कीका पूर्वसचिव सिद्धि रेग्मीले निर्माणाधीन अस्पताल जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्न सङ्गठनले पनि दबाब दिइरहेको बताए । अस्पताल निर्माणपछि प्रहरी र उनीहरुका परिवारसँगै सर्वसाधारणले पनि सेवा लिनसक्ने उनको भनाइ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्