Shikhar Insurance

लोप हुदैँ मही पार्ने चलन, बिक्दैनन् दारका ठेकाठेकी

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १४:२९
NIMB
Nabil Bank

गलेश्वर । गाउँ शहरमा काठका ठेकाठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि ठेकीमा मही पार्ने चलन हराउँदै गएको हो ।

करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् । गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ । काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ ।

“व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ”, विकले भने । वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०÷१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेशालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए ।

आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५र३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए ।

अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने,“प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।”बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ ।

मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्