Shikhar Insurance

करिब २ सय मिटर उचाइमा रहेको म्याग्दीको सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १६:००
NIMB
Nabil Bank

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो ।

समुद्रि सतहबाट दुई हजार छ सय ४० मिटर उचाइको पहाडमा रहेको सेतिनी झरना र आसपास मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । रघुगङ्गा–७ चिमखोलाका सप्रसाद पुनले सेतिनि झरनाको सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए । “अग्लो पहाडबाट खस्ने झरना जति हेरे पनि धित मर्दैन । यसको सुन्दरताको प्रचारप्रसार नहुँदा पर्यटक भित्र्न सकेका छैनन्” उनले भने । दुई वटा पहाडको बिचभागमा खोलाले बनाएको खोँचबाट खस्ने सेतीनी झरनाको उचाइ करिब १ सय ३० मिटर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बर्खामा पानी ठूलो हुँदा झरनामा इन्द्रेणी देखिन्छ । हिउँदमा झरनाको पानी वरपरको पहाडमा जमेर सेताम्मे हुन्छ । शान्त र एकान्त ठाउँमा अवस्थित यो झरनाको प्रचारप्रसार गर्न सके यस क्षेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पुनको भनाइ छ । बस्तीबाट टाढा रहेको झरना वरपर लालीगुराँसको जङ्गल छ । निर्माणाधीन ठूलोखोला जलविद्युत् आयोजनाको बाँध र उपल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको नजिकै सेतिनी झरना अवस्थित छ । उपल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत्गृहबाट बाँधतर्फ जाने पहुँचमार्गको यात्रा गर्दा सेतिनी झरनालाई दायाँतर्फ देख्न सकिन्छ ।

चिमखोलाको मण्डली युवा क्लवले सडकको छेउमा उक्त झरना अवलोकनस्थल र सूचनामूलक बोर्ड राखेका छन् । स्थानीयवासी र जलविद्युत् आयोजनाका कर्मचारी तथा मजदुर थकान मेटाउन र रमाइलोका लागि झरना अवलोकन गर्न आउँछन् । झरनाको विशेषताका बारेमा प्रचारप्रसार र पूर्वाधार बनाउने हो भने पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको सेतिनी भ्यालीमा होटल सञ्चालन गरेका चिमखोलाका कुशल पाइजाले बताए । काठैकाठले निर्माण गरिएको टहरामा सञ्चालित होटल परिसरबाट सेतिनी झरना र धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यो झरना धौलागिरि सेञ्चुरी, आइसफल र टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्गमा समेटिएको छ ।

तीन वटै धौलागिरि हिमालको आधार शिविर भएर म्याग्दी र मुस्ताङ आवतजावत गर्ने पदमार्ग हुन् । रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले सेतिनी झरना हुँदै धौलागिरि आधार शिविर र मुस्ताङको लेते निस्कने पदमार्ग निर्माणलाई पूर्णता दिएर पर्यटक भित्र्याउन पहल गरिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्