Shikhar Insurance

गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १५:३१
NIMB
Nabil Bank

गुल्मी । गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन् ।

गुल्मीमा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । जसमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार तीन सय ९४, आव २०७७/७८ मा आठ हजार चार सय १६, आव २०७८/७९ मा पाँच हजार तीन सय ९७ परिवारले स्वास्थ्य बीमा गराएका तथ्याङ्क छ । आव २०७९/८० मा एक हजार नौ सय ६४ र चालु आर्थिक वर्षको छ महिनामा एक हजार ८६ परिवारले स्वास्थ्य बीमा गराएका बीमा बोर्डका प्रमुख सुवास घिमिरेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार एक परिवारले वार्षिक ३ हजार पाँच सयमा पाँच जनाको १ लाखसम्मको स्वास्थ्य बीमा गर्न पाउँछन् । औषतमा एक परिवारको चार जनाको मात्रै स्वास्थ्य बीमा हुने गरेको उनको भनाइ छ । यसरी हेर्दा जिल्लामा पारिवारको मात्रै गणना गर्दा ७३ हजार २८ जना स्वास्थ्य बीमाको पहुँचमा रहेका प्रमुख घिमिरेले जानकारी दिए । सोही अवधिमा १५ हजार पाँच सय ५५ ज्येष्ठ नागरिकको पनि स्वास्थ्य बीमा गराइएको छ ।

ज्येष्ठ नागरिकको हकमा भने एक नागरिक बराबर एक परिवार गणना हुने उनले बताए । उनका अनुसार यसरी हेर्दा जिल्लामा कूल ८८ हजार पाँच सय ८३ नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।

विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

जिल्लाको चन्द्रकोट गाउँपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराइदिने कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत गत वर्ष दुई लाखमा एक सय अतिविपन्न परिवारको निःशुल्क बीमा भएको थियो । उक्त कार्यक्रमलाई यो वर्ष परिमार्जन गरिएको छ ।

यो वर्ष अतिविपन्न परिवारका लागि निःशुल्क र विपन्न परिवारका लागि ५० प्रतिशत सहुलियत प्रदान गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि यो वर्ष पनि चन्द्रकोटमा ३ लाख बजेट विनियोजन गरिएको छ । “स्वास्थ्य बीमामा सहुलियत दिनाले धेरै नागरिक बीमाको पहुँचमा आउन सक्छन् । यो कार्यक्रमले विपन्न नागरिकलाई धेरै राहत मिलेको छ ।” अध्यक्ष केसीले बताए ।

गत वर्ष रेसुङ्गा नगरपालिका–४ ले वडाकै बजेटबाट २९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो । सोही कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको वडाध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । निःशुल्क स्वास्थ्य बीमामा सुकुम्बासी र अतिविपन्न परिवार प्राथमिकतामा परेका उनले बताए । गत वर्ष रेसुङ्गा–३ कार्यालयले पनि २८ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो ।

जिल्लाभर ९३ स्वास्थ्य बीमा अभिकर्ता 

गुल्मीमा प्रत्येक वडामा एक/एक जनाका दरले ९३ जना स्वास्थ्य बीमा अभिकर्ता छन् । उनीहरुलाई स्वास्थ्य बीमा बोर्डले आवश्यक तालिमसमेत प्रदान गरेको छ । समयमै स्वास्थ्य बीमा गर्नाले बिरामी परेको समयमा आर्थिक भार वा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ ।

यसभन्दा पहिले धेरै सरकारी वा निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएकामा पछिल्लो समयमा त्यो कार्यक्रम कतिपय अस्पतालमा कटौती गरिएको छ । सरकारी अस्पतालमा गत माघ १ गतेदेदेखि उपचार गर्दा लागेको कूल लागतको १० प्रतिशत बीमित आफैँले व्यहोर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । त्यसैगरी निजी र सामुदायिक अस्पतालमा भने यही वैशाख १ गतेदेखि २० प्रतिशत रकम बीमितले तिर्नुपर्नेछ ।

नेपालमा पन्ध्रौँ योजनाको अन्त्यसम्म ६० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएकामा गुल्मीमा हालसम्म ४४.३० प्रतिशतमा पहुँच पुगेको बीमा बोर्ड गुल्मीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्