‘भारतमा किसानका कुराले सरकार ढल्छ, यहाँ आत्महत्या गरेपनि समाचार बन्दैन’

पवन गोल्यान
२०७८ जेष्ठ १, शनिबार १०:१३

आफुलाई उद्यमी मात्रै बताउने पवन गोल्यानले माटो ब्रान्ड ल्याएका छन् । उद्योगी भएपनि गोल्यान कृषकका नाममा उद्योगी पोस्ने काम सरकारबाट भएको बताउँछन् । आफूलाई किसानहरूको आवाज बोक्ने व्यक्ति मान्ने गोल्यान २ खर्बको आयात विस्थापित गरी ५ खर्ब बराबरको कृषि उपज निर्यात गर्न सक्ने सम्भावना नेपालको रहेको बताँउछन् ।

प्रस्तुत छ, कृषकका बारेमा सिंहदरबारले उनै गोल्यानसँग गरेको कुराकानीको सार :

– माटो ब्रान्ड बामे सर्दै थियो, कोरोनाको दोस्रो लहरले हिट गर्‍यो । हामीले माटोको लक्ष्य हासिल गर्ने ५ वर्ष सयम लिने भनेका छौं ।
– बजेट साना किसानलाई प्रोत्साहन गर्ने किसिमको आउनुपर्छ । किसानसँग आयकर लिनुहँदैन, कम्तिमा १० वर्षको छुट चाहिन्छ ।
– तरकारी र फलफूलको डम्पिङ साइट बनेको छ, नेपाल । आयातीत कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाए स्थानीय उत्पादनले बजार पाउने थिए ।
– अर्थमन्त्री हाम्रो कुरा सुन्ने किसिमको आउनुभएको छ, केही न केही राम्रा कुरा अवश्य आउलान् ।
– मसिनो चामलकै उदाहरण लिऔं, सबैभन्दा बढी आयात हुन्छ जुन नेपालमै उत्पादन नभएसम्म बन्द हुँदैन ।
– चिनी आयातमा ५० प्रतिशत भन्सार लाग्दा डब्ल्यूटीओको कुरा आउँदैन । कृषि उपज आयातमा भन्सार बढी लगाउँदा सामाग्री महंगो भयो भनिन्छ । चामल यही उत्पादन हुन्छ । आयातमा उच्च भन्सार दर लगाऔं न !


– कृषि प्रोत्साहनको नीतिमा राज्यका ३ तहका सरकारबीच समन्वय हुनुपर्छ । संघीय सरकारको एउटा ठूलो व्यक्तिले कृषिको नेतृत्व लिनुपर्छ । अर्थात् जसरी थाइल्यान्डमा राजाले नेतृत्व लिएका थिए, यहाँ पनि प्रधानमन्त्री वा राष्ट्रपतिले लिनुपर्छ । नाममा राखेर केही हुन्न ।
– भारतीय किसान जागरुक छन् । उनीहरुको आवाज पनि ठूलो छ । यहाँ किसानका कुरा कसैले सुन्दैन । १० वटा रिलायन्स कम्पनी चलाउन सजिलो छ तर कृषि गर्न गाह्रो छ ।
– भारतमा किसानलाई समस्या भए आगो लाग्छ, सरकार ढल्छ । नेपालमा किसानले आत्महत्या गरेपनि समाचार बन्दैन ।
– किसानप्रति जवाफदेही स्थानीय सरकार हुनुपर्छ ।
– यसअघि किसानका नाममा उद्योगीलाई प्रोत्साहन दियौं । उखुकै कुरा गरौं, किसानका कुरा सुनेनौं । नत्र, उधारो पैसा पाउन किसानले आन्दोलन गर्नै पर्थेन । उखुमा दिइएको प्रोत्साहनले किसानको कहाँ हित भयो त ?


– म उद्योगी भएपनि किसानको आवाज उठाउन चाहन्छु । उनीहरुलाई परेको समस्या ठाउँमा पुर्‍याउँछु । यो मिसनमा मलाई साथ दिनुस् ।
– कृषि उपजमा एउटा मुख्य समस्या भण्डारण हो । भण्डारण व्यवस्था हुनेवित्तीकै उत्पादनले २० प्रतिशत बढी लाभ पाउँछ । १ रुपैयाँका लागि मरिमेट्ने किसानका लागि त्यति धेरै लाभले ठूलो अर्थ राख्छ ।
– हो, अहिले २ खर्ब कृषि उपज आयात गरिरहेका छौं । तर, हामीसँग ५ खर्बको निर्यात गर्ने क्षमता छ । तपाईं पनि कृषिमा आउनुस्, कृषि गरेरै लाभ गर्न सक्ने ग्यारेन्टी म गर्छु । नेताहरु पनि आउनुस्, सेवा निवृत्त कर्मचारी पनि आउनुस् ।

प्रतिक्रिया दिनुहोस्