‘बीमा कम्पनीका कर्मचारीहरु फाइलको बण्डल बोकेर आउनुपर्दैन, कम्प्युटरमा बसे पुग्छ’

काठमाडौं । समितिमा नयाँ सर्भर र नयाँ सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस)को जडान भएको छ । बीमा कम्पनीहरुलाई सिधै एक्सेस उपलब्ध हुने यो सफ्टवेयरलाई बीमा क्षेत्रलाई नै डिजिटल बनाउन कोशेढुंगाको काम गर्नेछ । दर्शन टेक प्रालीले तयार पारेको सोही सफ्टवेयर उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने–
–बीमामा प्रबिधिलाई बढाउँदै इन्टरफेसलाई घटाउने योजना हो, यो प्रारम्भ मात्रै होइन, बीमाको विश्वसनियता बढाउन पनि भौतिक उपस्थितिलाई घटाउनुपर्नेछ ।
–हाम्रो मुख्य काम भनेको बीमा कम्पनीहरुलाई प्रविधिसँग जोड्ने हो । अब कम्पनीका कर्मचारी हातमा फाइलको बण्डल बोकेर आउनु पर्दैन, कम्प्युटरमा बसेपछि विवरण पठाउन सक्छन् ।
–बीमा व्यवसायलाई विश्वसनिय र व्यापक बनाउनका लागि समितिसँग अब पर्याप्त समय हुन्छ, ४० वटा कम्पनीका डिपार्टमेन्ट पिच्छेका कर्मचारीसँग कुरा गर्नुपर्ने झण्झट हट्यो । अब नियामक शसक्त हुन्छ । प्रविधिले सत्य कुरा गर्छ, त्यसले तथ्य पत्ता लगाउन पनि मदत गर्छ ।
–बीमा व्यवसायलाई प्रविधि मैत्री बनाउने हो । कानुनले तोकेको समयमा तोकिएका काम र विवरण पठाउनुपर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने हो ।
–अब कर्पाेरेट गभर्नेन्समा समिति अब्बल हुन्छ । बीमा कम्पनीहरुलाई थप व्यवस्थित र सबल बनाउने हाम्रो उदेश्य हो ।
– बीमा समिति नियामक मात्रै होइन, डेभलपर पनि हो भन्ने कुरालाई प्रमाणित गर्दै जानेछौं ।