‘मुटु दुख्छ गिट्टी कुट्दाकुट्दा’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार १०:५५

दैलेख । टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी ।

कोभिड महामारीको भन्दा भोकको चिन्ता छ उनलाई । गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उनको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उनलाई ।

उमेरले ७७ वर्ष पुगे पनि उनका दुःख ज्यूँका त्यूँ छन् । कोभिडका कारण जारी निषेधाज्ञाको परवाह छैन उनलाई, परवाह छ त भोक-प्यास मेटाउन कामको अनि थोरै आम्दानीको ।

दैलेख ठाटीकाँध- १ का आउँसे सुजी यसरी नै गुजारा गरिरहेका छन् । वडा- १ को मुख्य आवतजावत हुने ठाउँ भैरवथान नजिकै बसेर उनले गिट्टी कुटेरै दैनिकी चलाएको निकै समय भयो ।

सुनसान बिहान भालेको डाकसँगै आउँछन् र दिनभरि गिट्टी कुट्छन् उनी । बिहानको खाना खाएर ३० किलोको एक बोरा गिट्टी कुटेबापत प्रति बोराको ७० रुपैयाँ पाउँछन् आउँसे ।

‘कोभिडको समयमा घरमै बसे हुने म बूढाले’, उनले भने, ‘के गरौँ बाबै ! काम नगरी साँझ चुह्लो बल्दैन काम गर्नै पर्‍यो । गिट्टी कुट्दाकुट्दा बूढेसकालमा मुटु दुख्छ, हात-खुट्टा गलेर खाइना छन् ।’

गिट्टी कुट्दाकुट्दा फुटेका हात देखाउँदै उनले भने, ‘आँखा पनि राम्रोसँग देख्दैन, हथौडा गिट्टीमा बजार्दा उल्टै हातमा बाजारिन्छ, म बूढाका दुःख !
पहिले श्रीमती हुँदा यति दुःख गर्नुपर्दैन थियो । दुई बूढाबूढी भैँसी पाल्थ्यौँ, घीउ बेच्थ्यौं,अहिले श्रीमतीले छाडेर गैहाली ।’

उनकी श्रीमतीको मृत्यु भएको छ वर्ष पुग्यो । श्रीमतीको मृत्युपश्चात दुःख नै दुःख भएको बताउँछन् उनी । ‘श्रीमती भएकी भए बरु आफैँ काम गर्थें, श्रीमतीलाई घरमै खाना बनाउन भन्थेँ, यतिका दुःख त हुन्थेनन्’, उनले भने ।

बिहानदेखि साँझसम्म गिट्टी कुट्दाकुट्दा कहिले साँझ परेको पत्तै पाउँदैनन् उनी । ‘छामछुम गरेर अँध्यारोमा घर जान्छु’, उनी भन्छन् ।

घरमा सुजीसहित १६ वर्षीय नाति छन् । नातिले पानी ल्याएर आगो बाले बल्छ, नत्र त्यसै सुत्ने उनी सुनाउँछन् । दिउँसोको उखर्माउलो गर्मीमा गिट्टी कुट्दा फुटेका हात देख्दा नातिले ‘बाज्या, मेरो लागि हजुरलाई बूढेसकालमा यसरी हात फोर्नुपरेको छ है ! हजुरको नातिले केही गर्न सकेन है !’ भनेर झन् भावुक बनाएर टुप्लुक्क आँसु खसाल्दै अँगालोमा आउने उनले बताए ।

‘क्या गर्नु बाबै ! तरुनै हुने बेला बरु सुख पाइएका हुन् । ऊ बेला सुख पाएर हो कि अहिले बूढेसकालमा यसरी दुःख गर्नुपरेको छ । हाम्रा पनि सुखका दिन आउलान् नि भनेर मन बुझाउँछु’, उनले निराशा पोखे ।

गाउँगाउमा सिंहदरबार आयो भन्छन् तर आफू जस्ता बूढाले यसरी दु:ख पाएको ती सिंहदरबारले किहले देख्लान् ? भन्ने लागेको छ उनलाई । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्