Shikhar Insurance

३७७ दिनदेखि रोकिएको हिमालयन र इन्भेष्टमेण्टको सेयर कारोबार भोलिदेखि खुल्दै

दिलु कार्की
२०७९ जेष्ठ ११, बुधबार १३:४१
NIMB
Nabil Bank

काठमाडौं । एक वर्षदेखि रोक्का रहेको हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुला हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकका आधारभुत सेयर (संस्थापकसहित) को मात्रै सेयर कारोबार रोक्का राख्न बैंकलाई सहुलियत दिएसँगै कारोबार फुकुवा हुने भएको हो ।

हिमालन बैंक र इन्भेष्टमेन्ट बैंकले २०७८ वैशाख ३० गते आपसमा मर्जरको सम्झौता गरेर राष्ट्र बैंकका स्वीकृतिका लागि आवेदन दिएका थिए । मर्जरको सम्झौता गरेसँगै वैशाख ३१ गतेदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीसम्बन्धि विनियमावली, २०७३ को व्यवस्था अनुसार सेयर कारोबार रोक्का गरेको थियो । तर, सोही व्यवस्थाले दिएको सहुलियत प्रयोग गर्दै केन्द्रीय बैंकले डि–मर्जरको स्वीकृति दिँदै आधारभुत सेयरधनीको सेयर कारोबार खुला गर्न यी बैंकहरुलाई करिब २ साता अघि पत्र पठाएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘औपचारिक रुपमा राष्ट्र बैंकले यी बैंकहरुलाई डि–मर्जरको स्वीकृति दिएर आधारभुत सेयरधनी बाहेकको सेयर कारोबार खुला गर्ने निर्णय बोर्डले नै गरेको थियो,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो,‘मर्जर तथा प्राप्तीसम्बन्धि विनियमावलीमै रहेको व्यवस्था यसअघि डि–मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई प्रयोग गर्न दिइएको थिएन । तर, डि–मर्जरमा जाने संस्थाको लामो समय सम्म सेयर कारोबार रोक्का हुने भएपछि हिमालयन र इन्भेष्टमेण्टका आधानरभुत सेयरधनीलाई सेयर कारोबार खुला गर्न भनिएको हो । अब डि–मर्जरमा जाने अन्य संस्थाहरुको हकमा पनि यही नियम लागु हुन्छ ।’

राष्ट्र बैंकले यरअघिसम्म डि–मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले अर्को पार्टनर खोजेर मर्जर नहुञ्जेलसम्म सेयर कारोबार रोक्का गर्ने गरेको थियो । मर्जर विनियमावलीले आधाभुत सेयरधनीको मात्रै सेयर कारोबार रोक्का गर्नु भनेपनि अर्को संस्थासँगको मर्जरमा तदारुकताकै लागि सो सुविधा प्रयोग गर्न यसअघि राष्ट्र बैंकले बन्देज लगाएको स्रोतको भनाइ छ ।

‘मर्जर गर्छु भन्दै मर्जर भाँड्दा त्यसको नकारात्मक असर असर वित्तीय क्षेत्रमा पर्छ, सेयर कारोबार रोक्का गरेपछि मर्जर सम्पन्न गराउन वा डि–मर्जर गर्नेले पनि अर्को संस्थासँग मर्जर गराउन तदारुकता देखाउँछन् त्यसैले यसअघि विनियमावलीमा भएपनि रोक्का गर्न गरिएको थियो,’ राष्ट्र बैंक स्रोतले भन्यो , ‘कम्पनी ऐन अनुसारको दफा ५० मा आधारभुत भनेर १ प्रतिशत वा सो भन्दा बढी सेयरलाई भनिने उल्लेख छ, सोही अनुसार बैंकले १ प्रतिशत वा सो भन्दा माथिको सेयरधनीको सुची नेप्से र सिडियस एण्ड क्लियरिङमा पठाएर अन्यको खुला गराउँछन् ।’

स्रोतका अनुसार राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई जेठ ९ गते सेयर कारोबार खुल्ला गर्नको लागि पत्र पठाएको हो भने हिमालयन बैंकलाई भने तोकिएको स्प्रेडदर कायम नगरेको कारण सेयर कारोबार रोक्का नै गरेको छ ।

‘हिमालयन तोकिएको स्प्रेडदर कायम नगर्दाको हुने कारबाहीमा पर्दा सेयर कारोबार रोक्का भएको हो, डि–मर्जरको कारणले भने सेयर बारोबार फुकुवाको बाटो खुल्ला छ,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकको सञ्चालक समितिले वैशाख दोस्रो साता नै डि–मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको आधारभुत बाहेकको मात्र सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको भएपनि सम्बन्धित बैंकहरुलाई भने जेठ पहिलो सातामात्रै पत्र पठाइएको हो ।

इन्भेष्टमेन्ट बैंकले भने जेठ १० गते नेप्से र सीडीएससीमा आधारभुत सेयरधनीहरुको सेयर कारोबार खुला गराउन पत्र पठाएको छ, जसमा १४ सेयरधनी सुची पनि उल्लेख गरिएको छ । बैंकले अर्को संस्थासँग मर्जर सम्पन्न गरी एकिकृत कारोबार नगर्दासम्म इन्भेष्टमेन्ट बैंकका ती १४ सेयरधनीको सेयर कारोबार रोक्का हुने राष्ट्र बैंकको मर्जर तथा प्राप्ती विनियमावली २०७३, मा उल्लेख छ ।

राष्ट्र बैंकले स्वीकृति दिएसँगै डिम्याट खाता खुल्ला गराउन इन्भेष्टमेन्ट बैंकले पत्र पठाएसँगै जेठ १२ गते बिहिबारदेखि कारोबार खुल्ला गरिने सिडिएसी एण्ड क्लियरिङस्का कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यले सिंहदरबारलाई जानकारी दिए ।

‘आधारभुत सेयरधनीको नामावालीसँगै बैंकले डिम्याट खाता नम्बर पनि पठाएपछि हामीले खाता फुकुवा गछौँ, अहिले आधारभुत सेयरधनीको नामावलीमात्र प्राप्त भएको छ, डिम्याट खाता नम्बर पठाउन बैंकलाई भनेका छौं, खाता फुक्का भएपछि सम्भवतः नेप्सेमा भोलिदेखि कारोबार शुरु हुन्छ,’ सीइओ आचार्यले भने ।

लामो समयसम्म मर्जर गछौं भन्दै मर्जर नगर्ने हिमालयन र इन्भेष्टमेन्टका लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको सम्पत्ति सेयर बजारमै फ्रिज भएर बसेको थियो । राष्ट्र बैंकले यी बैंकहरुलाई साना लगानीकर्ताको गुनासोलाई सम्बोधन गर्दै मर्जर विनियमवालीको व्यवस्था प्रयोग गर्न दिँदा ३७७ दिन यता रोकिएको सेयर कारोबार खुला हुने भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकमा १ प्रतिशतभन्दा बढी सेयर रहेका सेयरधनीहरूः

– राष्ट्रिय बीमा कम्पनी : १२.०६%
– महालक्ष्मी इन्भेष्टमेन्ट : ७.१%
– छाँया इन्भेष्टमेन्ट : ६.६%
– केयूपी इन्भेष्टमेन्ट : ६.२८%
– सोफिया इन्भेष्टमेन्ट : ५.९७%
– नागरिक लगानी कोष : १.८४%
– अन्नपर्ण इन्भेष्टमेन्ट : १.३२%
– सुर्य इन्फोसिस : १.३२%
– प्रेष्टाइन इन्भेष्टमेन्ट : १.३२%
– कमला इन्भेष्टमेन्ट : १.२६%
– नोवल इन्भेष्टमेन्ट : १.२६%
– लोटस इन्भेष्टमेन्ट : १.१६%
– राष्ट्रिय बीमा संस्थान : १.०३%
– मर्कन्टाइल इन्भेष्टमेन्ट : १.०३%

हिमालयन बैंकमा १ प्रतिशतभन्दा बढी सेयर रहेका सेयरधनीहरूः

– हविब बैंक : २०%
– कर्मचारी सञ्चय कोष : १४.८७%
– एन ट्रेडिङ कम्पनी : १२.७७%
– म्युचुअल ट्रेडिङ कम्पनी : ११.८५%
– आभा इन्टरनेसनल : ११.३८%
– छाया इन्टरनेसनल : ८.९४%
– शशिकान्त अग्रवाल : २.६५%

GBIME

प्रतिक्रिया दिनुहोस्