Shikhar Insurance

गर्मी से बेहाल, चलो नेपाल : भारत र बंगलादेशका ८ लाख व्यवसायीलाई नेपाल घुम्न परिसंघको निम्तो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १८:००
NIMB
Nabil Bank

काठमाडौं । यतिखेर छिमेकी देश भारत र बंगलादेशमा व्यापक गर्मी छ । तापक्रम ४५ डिग्री सेल्सियसभन्दा बढी छ । तर, केही सय किलोमिटर पर नेपालका पहाडमा भने तापक्रम २५ डिग्रिभन्दा कम छ । राजधानी काठमाडौंमै ३० डिग्रि नाघेको छैन ।

गर्मीले पिल्सिएका भारत र बंगलादेशमा नागरिक भारतीय उच्च भुभाग घुम्न रुचाउँछन् । ती मध्ये जानेबुझेका कोही कोही नेपाल पनि आउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल आउने भारतीय र बंगाली पर्यटकको संख्या निकै कम छ । प्रि–मनसुन सुरु भइसकेका कारण अर्को छिमेकी मुलुक चीनलगायत अन्य देशका पर्यटकका लागि भने आगामी २–३ महिना नेपाल घुम्ने सिजन होइन ।

तर, गर्मीले बेहाल भारत र बंगलादेशी नागरिकका लागि नेपाल सस्तो, सहज र उत्कृष्ट गन्तव्य बन्न सक्छ । भारतीय र बंगालीलाई नेपालको भिसामा सहजता, बीआईएन इनिसियटिभका कारण सडक यात्रा पनि सहज, हवाइ कनेक्टिभिटीका आधारमा सुगम, नेपाली पर्यटकीय गन्तव्यमा स्वाद पनि सस्तैमा चाख्न पाउने भएकाले उनीहरुका लागि नेपाल उत्तम विकल्प बन्न सक्छ ।

पछिल्लो समय भारतबाट वर्षेनी साढे २ करोड र बंगलादेशबाट करिब २५ लाखको संख्यामा नागरिक विदेश घुम्न निस्किएको तथ्य बाहिरिएको छ । मध्ये समरमा पनि यी देशको भन्दा नेपालको तापक्रम दुई तिहाई पनि नहुनाले पर्यटकीय बजारका हिसाबमा भारत र बंगलादेश नेपालका लागि उत्कृष्ट विकल्प हुन् ।

अर्कातर्फ नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दो छ । यस्तोमा पर्यटकीय गतिविधि डलर आम्दानीको राम्रो उपाय हो ।

नेपाली उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई)ले यीनै महत्व बुझी एउटा अभियान चलाउने घोषणा गरेको छ ।

परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरेको हो ।

अभियानमा परिसंघले आफूसँग सहकार्य गरेका भारतीय र बंगाली संस्थाका सदस्यलाई नेपाल घुम्न आमन्त्रण गर्ने छ । यस्तै परिसंघका सदस्यले ती देशका समकक्षीलाई नेपालमा विवाह फङ्सन, कर्पोरेट कार्यक्रम आदि आयोजना आह्वान गर्नेछन् ।

परिसंघले भारतीय र बंगालदेशी भाषामा ‘गर्मीले आक्रान्त हुनुभयो ? नेपाल घुम्न जाऔं !’ भन्ने सन्देश दिने पोस्टर तयार पारेको छ । सोही अनुसार गर्मी छल्न नेपाल जाऔं भन्ने सन्देश प्रवाह गरिने परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए ।

यो अभियानले नियमित पर्यटकको संख्यामा २० प्रतिशत बढ्ने अनुमान गरिएको छ ।

बिहिबार अभियानको सुभारम्भ गर्दै अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताए । हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास उनको छ ।

“पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिबृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो,” उनले भने । परिसंघ जस्तो जिम्मेवारी संस्थाले लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान संचालन गरेको उनले बताए । यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास अग्रवालको छ ।

भारत र बंगलादेश दु्रत रुपमा बृद्धि भइरहेको बजार हो । यिनिहरुको आर्थिक बृद्धि पनि उच्च छ । नेपालसँग हवाई संजाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ । तर, उनीहरुलाइ हाम्र्रो गन्तव्य, मौसमको बारेमा जानकारी गराउनु पनि पर्छ । सोही उद्देश्य अनुरुप परिसंघले यो अभियान संचालन गरेको हो । सन् २०१९ मा २ करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ । यस्तै सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । कोभिड पछि उनीहरु विस्तार बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको हो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । “नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ” उनले भने ।

अग्रवालले हालै भारतको भोपालमा रहेको एकजना समकक्षीलाई नेपालमा तापक्रमा ३० डिग्रि भन्दा कम रहेको सुनाउँदा उनी आश्चर्यमा परेका थिए । भारतीय मित्रले आफूले गरेको निम्तो स्वीकार्दै चाँडै सपरिवार नेपाल घुम्न आउने र गर्मी छल्ने योजना बनाउने बताएको अग्रवालको भनाइ छ ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताए । परिसंघले भारतमा अल इन्डीया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताए । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ ।

यी संस्थाका ८ लाख भन्दा बढी सदस्यलाई नेपाल आउन आमन्त्रण गरिनेछ । परिसंघको समकक्षी संघ उद्योगी व्यवसायीहरुको संस्था रहेकाले खर्चालु पर्यटक नेपाल आई उनीहरु विदेशी मुद्राको राम्रो स्रोत बन्न सक्छन् ।

परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान संचालन गर्न लागिएको जानकारी गराइन् । उनले यो अभियानले नेपालको पर्यटन प्रबद्र्धनमा निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा परिसंघको पर्यटन समिति सदस्यहरु अशोक पोख्रेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, नाट्टा अध्यक्ष रमेश थापा, सुरेश बुडाललगायतले परिसंघले संचालन गरेको यो अभियानले भारत, बंगलादेश मात्रै नभई अन्य मुलुकका पर्यटक पनि आकर्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पर्यटनसँग सम्बन्धित विभिन्न संघ, संस्था एवं व्यवसायीहरुलाई यो अभियानको अपनत्व लिदै आ आफ्नो सञ्जालबाट थप प्रबद्र्धन गर्न परिसंघ आग्रह गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्