Shikhar Insurance

सबैभन्दा ठूलो बैंक बन्दै ‘नेपाल इन्भेष्टमेण्ट मेगा’: अरुलाई प्रतिस्पर्धाको दबाब, नयाँ बैंकलाई प्रतिफलको

दिलु कार्की
२०७९ जेष्ठ २८, शनिबार ०६:४२
NIMB
Nabil Bank

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले आपसमा मर्जरको सम्झौता गरी सकेका छन् । मर्जर पछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाम एकीकृत कारोबार गर्ने गरी यी बैंकहरुले मर्जर सम्झौता गरेका हुन् ।

हाल २७ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु यी बैंकको मर्जर सम्पन्न भएसँगै २६ वटामा झर्नेछन् । तर, मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक भने सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलोे वाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैंकलाई समेत पछि पार्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्ने प्रक्रिया सुरु भएको हो ।

ग्लोबल आईएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेपछि २३ अर्ब ७९ करोड रुपैयाँ रुपैयाँ पुँजी कायम गरी नेपालकै सबैभन्दा ठूलोे वाणिज्य बैंक बनेको थियो । तर, मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर सम्झौताले ग्लोबल आईएमई बैंकको उक्त ‘ट्याग’ लाई खोस्ने भएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । दुवै बैंक एक भएपछि चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ भइ सबैभन्दा बढी पुँजी भएको वाणिज्य बैंक बन्ने मर्जर सम्झौतापछि दुवै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यी बैंक १००ः९० को स्वापमा मर्ज हुने बताइएको छ । नयाँ बन्ने बैंकमा नेपाल इन्भेष्टमेण्टको १०० कित्ता सेयरधनीको १०० कित्ता र मेगाको १०० कित्ता सेयरधनीको ९० कित्ता सेयर हुनेछ । १०० बराबर ९० को स्वाप अनुसार नयाँ बैंकको ३२ अर्ब ८१ करोड हुनेपर्ने हो । तर, संयुक्त विज्ञप्तिमा ३४ अर्बभन्दा बढी हुने दाबी गरिएको छ ।

मर्जर पछि बन्ने बैंकको गजेडा कोष, कर्जा लगानी, निक्षेप संकलन समेत वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा धेरै हुने देखिन्छ ।

हाल नेपाल इन्भेष्टमेण्टको जगेडा कोषमा १४ अर्ब ८२ करोड र मेगाको जगेडा कोषमा ५ अर्ब ९२ करोड रुपैयाँ मौज्दात छ । मर्जर पछि बन्ने बैंकको जगेडा कोषमा २० अर्ब ७४ करोड रुपैयाँ हुनेछ ।

इन्भेष्टमेण्ट बैंकले गत वर्ष वैशाखमै हिमालयन बैंकसँग मर्जरको सम्झौता गरी एक वर्ष प्रक्रियामा रहेर डिमर्जर भएको थियो । डिमर्जर पछि राष्ट्र बैंकको वाणिज्य बैंकहरुको संख्या घटाउने मर्जर नीति असफल बन्दै गएको विश्लेषण गरिएको थियो । तर, सोही मर्जर नीतिले नै इन्भेष्टमेण्ट र मेगाबीच मर्जर गराएको दाबी राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र गर्छन् ।

‘मेगा र इन्भेष्टमेण्टको मर्जर सम्झौता हाम्रो लागि ‘गुड न्यूज’ हो, यसले अन्य वाणिज्य बैंकलाई पनि मर्जर गर्नुपर्छ भन्ने सन्देश गएको छ,’ डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने, ‘हाम्रो विनियमावलीको व्यवस्थामा डिमर्जर भएपछि निश्चित समयमा अर्को पार्टनर खोजेर मर्जर गर्नु पर्ने व्यवस्था छ त्यो अन्तर्गत रहेर इन्भेष्टमेण्ट बैंकले काम गरेको हो ।’

इन्भेष्टमेण्ट बैंकले गरेको कामलाई सराहना योग्य भन्दै उनले आगामी दिनमा अन्य वाणिज्य बैंकले पनि मर्जर सम्झौता गरी प्रतिस्पर्धी बैंकिङ व्यवसाय गर्नेमा आशावादी भएको बताए ।

‘यस्तै खालको कन्सोलिडेसन अन्य बैंकहरुले पनि गर्छन भन्ने राष्ट्र बैंकको अपेक्षा छ,’ डेपुटी गभर्नर मिश्रले भने ।

इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले १ः०.९ स्वाप रेसियो तय गरी मर्जरको सम्झौता गरेका छन् । सम्झौता अनुसार मेगा बैंकको १०० कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता हुनेछ । मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा सीईओ ज्योति प्रकाश पाण्डे, अक्ष्यक्ष पृथ्वी बहादुर पाँडे र डीसीईओमा रबिना देशराज श्रेष्ठ रहनेछन् ।

यस्तै, हालसम्म इन्भेष्टमेण्ट बैंकले १ खर्ब ८२ अर्ब १ करोड रुपैयाँ र मेगा बैंकले १ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । मर्जर पछि बन्ने बैंकको कुल निक्षेप ३ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । साथै मेगा बैंकको १ खर्ब ५० अर्ब ४६ करोड रुपैयाँ र इन्भेष्टमेण्ट बैंकको १ खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यी बैंकको मर्जर पछि बन्ने बैंकको कुल कर्जा लगानी नै ३ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ हुनेछ ।

वैशाख मसान्तसम्म सबैभन्दा बढी निक्षेप संकलन र कर्जा गर्ने बैंक ग्लोबल आइएमई बैंकले २ खर्ब ७७ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

इन्भेष्टमेण्ट बैंकसँग मर्जर सम्झौता गरि नेपालमा इतिहास कायम भएको मेगा बैंकका अध्यक्ष भोजराज शाह बताउँछन् । आगामी आवको पहिलो त्रैमासभित्रै एकीकृत कारोबार सुरु गर्ने गरी मर्जर प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

‘राष्ट्र बैंकमा मर्जरको स्वीकृतिको लागि आइतबार आवेदन दिन्छौँ, राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएपछि हाम्रो तर्फबाट गर्नुपर्ने काम तदरुकताका साथ अघि बढाइन्छ र आगामी आवको पहिलो त्रैमाससम्म एकीकृत कारोबार सुरु गर्ने प्रयास हुनेछ,’ अध्यक्ष शाहले सिंहदरबारसँग भने, ‘एकीकृत कारोबार पछि बन्ने बैंक नेपालकै सबैभन्दा ठूलोे वाणिज्य बैंक हुन्छ, यसले अन्य वाणिज्य बैंकलाई व्यावसायीक प्रतिस्पर्धामा चुनौती थपिएको छ ।’

मर्जर पछि बन्ने बैंकले थप पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमता अभिवृद्धि, ग्राहकलाई थप गुणस्तरिय सेवा र लगानीकर्तालाइै उच्च प्रतिफल दिने प्रयासमा अग्रसर रहने उनले बताए ।

हाल नेपालमा ९ अर्ब रुपैयाँदेखि पौने २४ अर्ब रुपैयाँ पुँजी भएका वाणिज्य बैंकहरुले बैंकिङ कारोबार गरिहेका छन् । समान नियमकीय व्यवस्थाको पालना, प्रविधिको प्रयोग र नीति परिपालनमा आफूभन्दा ४ गुणा बढी भएको वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्दै व्यवसाय गर्न साना पुँजी भएका बैंकलाई समस्या हुने देखिन्छ । जसले गर्दा त्यस्ता बैंकहरुले मर्जरमा जानुपर्ने दवाब सिर्जना हुनेछ ।

हाल सबैभन्दा १० अर्ब रुपैयाँभन्दा थोरै पुजी भएका ५ वटा वाणिज्य बैंक छन् । जसमा सिभिल बैंकको ९ अर्ब ७ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ४२ करोड, एभरेष्ट बैंकको ९ अर्ब ४६ करोड, सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड, नेपाल एसबीआई बैंकको ९ अर्ब ८२ करोड रुपैयाँ चुक्ता पुँजी कायम छ ।

राष्ट्र बैंकले १० अर्ब रुपैयाँभन्दा कम पुँजी भएका वाणिज्य बैंकलाई व्यक्तिगत रुपमै बोलाएर प्रतिस्पर्धी व्यवसायको लागि पुँजी बढाउने उपाय अबलम्बन गर्न सुझाव दिइरहेको छ । यी बैंकहरुलाई १० अर्ब रुपैयाँभन्दा बढी १५ अर्ब रुपैयाँसम्म चुक्तापुँजी भएका वाणिज्य बैंकसँग मर्जर तथा प्राप्तिमा गएर पुँजी थप गरी बलियो बन्न राष्ट्र बैंकले सुझाएको हो ।

हाल १० अर्ब रुपैयाँभन्दा माथि १५ अर्ब रुपैयाँसम्म पुँजी भएका १५ वटा वाणिज्य बैंक छन् । जसमा नेपाल बंगलादेश बैंकको १० अर्ब ८ करोड, सनराइज बैंकको १० अर्ब ११ करोड, माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड, बैंक अफ काठमाण्डू १० अर्ब ६२ करोड, एनसीसी बैंकको ११ अर्ब १३ करोड, सानिमा बैंकको ११ अर्ब ३२ करोड, लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड, एनआईसी एशियाको ११ अर्ब ५६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ११ अर्ब ९४ करोड, सिद्धार्थ बैंकको १२ अर्ब ५२ करोड, प्रभु बैंकको १२ अर्ब ७० करोड, हिमालयन बैंकको १२ अर्ब ९६ करोड, सिटिजन्स बैंकको १४ अर्ब २० करोड, नेपाल बैंकको १४ अर्ब ४० करोड, कुमारी बैंकको १४ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी कायम छ ।

मेगा र नेपाल इन्भेष्टमेण्टबाहेक १५ अर्बभन्दा बढी पुँजी भएको बैंकहरु ५ वटा छन् । जसमध्ये एनएमबी बैंकको १८ अर्ब ३६ करोड, नबिल बैंकको १८ अर्ब ४८ करोड र कृषि विकास बैंकको १८ अर्ब ६२ करोड, प्राइम कमर्सियल बैंकको १८ अर्ब ६५ करोड र ग्लोबल आईएमई बैंकको २३ अर्ब ७९ करोड रुपैयाँ चुक्तापुँजी छ ।

हाल नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जरको प्रक्रियामा छ भने १० अर्ब कम चुक्ता पुँजी भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफू मर्जरमा सहभागि नै नहुने राष्ट्र बैंकलाई स्पष्ट पारिसकेको छ । यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकसँग डिमर्जर गरेर अर्को पाटनरको खोजीमा रहेको हिमालयन बैंकले ८ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी भएको सिभिल बैंकसँग लबिङ गरिहेको छ । यस बाहेकका वाणिज्य बैंकहरुले व्यवसायीक घरना मिल्ने र कारोबारको प्रकृति सुहाउँदो बैंकसँग अनौपचारिक लबिम गरिहरको चर्चा बैंकिङ बजारमा चलेको छ ।

बैंकहरु मर्जरमा जाँदा उनीहरुको अधिक पुँजीको बोझ भने थपिएको छ । सिमित बजारमा तीब्र प्रतिस्पर्धा र नियामक राष्ट्र बैंकको कसिलो नीतिले बैंकहरुको नाफा खुम्चँदो छ । चुक्तापुँजी यसरी थेग्नै नसकिने बन्दा उनीहरुले लगानीकर्तालाई दिने प्रतिफलमा विस्तारै कमी आउन थालेको छ । भविष्यमा यसले अझै विकराल रुप लिने जानकार बताउँछन् ।

३४ अर्ब चुक्तापुँजी भएको नेपाल इन्भेष्टमेण्ट मेगाले आगामी आव कम्तिमा १५ प्रतिशत प्रतिफल (नगद लाभांश वा बोनस सेयर) वितरण गर्न ५ अर्ब भन्दा रुपैयाँ वितरणयोग्य नाफा आवश्यक पर्छ । बैशाख मसान्तसम्म मेगाले २ अर्ब २८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दा, नेपाल इन्भेष्टमेण्टले २ अर्ब ८४ करोड रुपैयाँ नाफा गरेको छ ।

बोनसमा जोड दिने गरेका बैंकको लाभांश वितरण पछि पुँजीवृद्धि हुँदा अर्को वर्ष थप लाभांश बाँड्न थप नाफाको आवश्यकता पर्छ । जुन आगामी आवको असोज मसान्तअगावै बन्ने भनिएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको लागि सबैभन्दा ठूलो चुनौतीको विषय हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्