Shikhar Insurance

बार्षिक ३५ लाख पर्यटक ल्याउने गरि पर्यटन दशक घोषणा गर्छाैः पर्यटनमन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार ०८:१७
NIMB
Nabil Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासका लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् ।

पर्यटन दशकको अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आज आयोजना गरिएको अन्तरक्रियामा उनले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड–१९ महामारीले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न पर्यटन दशकको अवधारणा अघि सारिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

पर्यटनमन्त्री श्रेष्ठले पर्यटन विकासका लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्ने बताउँदै यसको समग्र विकासका लागि निजी क्षेत्र अग्रसर हुनुपर्ने धारणा राखे ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन दशकको अवधारणापत्र प्रस्तुत गर्दै नेपालले दीगो रूपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकाले यसबाट लाभ लिन यो अवधारणा अगाडि बढाइएको जानकारी दिए । उनले सन् २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको बताए ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसँग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने र यो अवधारणालाई मूर्त रूप दिन सकिने बताए । पूर्वसभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसँग सम्बन्धित छुट्टै संसदीय समिति आवश्यक रहेको बताए ।

पर्यटन क्षेत्रका छाता संस्था, वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताका लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले यस्ता कार्यक्रम गर्दा निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासँगै यसको विस्तृत कार्यक्रम र बजेटको सुनिश्चितता आवश्यक भएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्