सामूहिक सहकार्यको नमुना : पर्ममै बन्छन् गाउँका घर

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १६:२८

दोधारा चाँदनी । कञ्चनपुरको विकट बस्ती भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जहाँ अहिले पनि गाउँलेका घर पर्मबाट बन्ने गरेका छन् । यहाँ गाउँका सबै जना एकआपसमा सहयोगको भावनाले सबै काम सम्पन्न गर्ने गरेका छन् । गाउँमा घर निर्माणदेखि सबै कार्य सामूहिकरुपमा सम्पन्न गर्ने गरेको यहाँका स्थानीय बताउँछन् । स्थानीय मानमती धामीले यहाँ पर्मबाट घर बनाउने गरेको बताइन् ।

“अरुको घर बनाउने बेला मैले पनि सहयोग गरेँ अहिले मेरो घर बनाउन गाउँका सबै जनाले मलाई सहयोग गर्दैछन्, उनले भनिन्, “पहिलेदेखि नै एकअर्कालाई सहयोग गर्ने, पर्म गर्ने र सरसापटी गर्ने चलन नै छ ।” अहिलेको समयमा बजारमा आर्थिक पक्षलाई मात्रै ध्यान दिन थालेको बताउँदै उनले गाउँमा अझै पनि एकअर्काको दुःखसुखमा साथ दिने गरेको बताइन् ।

“दिनभरि काम गरेबापत खाना र खाजा दिने हो पछि म पनि उनहरुको घरमा काम गर्न जान्छु, उनले भनिन्, “अर्मपर्म मात्रै होइन हाम्रो त सरसापटी पनि चल्छ यो पहिले देखिकै परम्परा हो ।”

पछिल्लो समय समाजमा रहेका यस्ता प्रचलन हराउँदै गए पनि यहाँका बासिन्दामा भने यो प्रचलन अझै छ । यस्ता प्रचलन हराउ थालेपछि यसले एकातिर सामाजिक भावना घट्दै गएको छ भने अर्कोतिर आर्थिक अवस्था कमजोर भएको मान्छेले ठूला काम गर्न समस्या झेल्नुपरेको यहाँका स्थानीय बताउँछन् ।

मानमति धामीको घर बनाउन ढुङ्गा बोक्दै गरेका धनबहादुर ओडले गाउँमा मिलेर काम गर्ने गरेको बताए। “दुई महिनाअघि मैले पनि घर बनाएको हुँ मेरो घर बनाउन उनि (मानमती)ले पनि सहयोग गरेकी हुन्, उनले भने, “अहिले उनको घर बन्दा मैले सहयोग गर्दैछु यसरी गाउँभरि मिलेर काम गर्छौं ।” उनले घर बनाउन मात्रै नभई अन्य काममासमेत यसरी नै काम गर्ने गरेको बताए।

घरका लागि जग खन्दा, काठ ओसारपसार गर्दा, छत लगाउँदा, ढुङ्गा बोक्दा आदि कार्यका लागि गाउँका सबै जनाले मिलेर काम गरिदिने यहाँका स्थानीय सुमित्रा थापा मगरले बताइन् । “सार्वजनिकरुपमा मठमन्दिर, विद्यालय, चौतारो, बाटोघाटो आदि कार्यमा पनि सामूहिकरुपमा काम गर्ने गर्छन्, उनले भनिन्, “यसरी काममा गएका मानिसलाई पहिला पहिला गुडपानी र चिया खुवाउने गरिन्थ्यो अहिले मासुभात खुवाउने गरिन्छ ।”यसले गर्दा समाजमा एकता कायम रहेको उनले बताइन् ।

“आर्थिक अवस्था कमजोर भएकाले पनि घर बनाउनसके यसरी सहयोग नगरेको भए घर बनाउन सम्भव थिएन ।” उनले भनिन्, “जसको घरमा काम गर्न जाने हो त्यहाँ एक छाक खाना खाने र रमाइलो गरेर काम गरिन्छ ।”यसरी सामूहिकरुपमा काम गर्दा थकानकोसमेत कुनै महशुस नभएको स्थानीय चक्रदेव धामीले बताए ।

“काम गर्दागर्दै दिन गएको पत्तो हुँदैन काम गर्दा हासी ठट्टा पनि गरिन्छ ।”उनले भने, घरायसी सरसमान पनि अ‍ैँचोपैँचो गरेर चलाउने गरेका छौँ ।” यसरी समाजमा हरेक मानिसले कुनै काम पनि सहजताका साथ सम्पन्न गर्न सकज भएको स्थानीय बताउँछन् ।

त्यसैगरी विवाह, ब्रतबन्ध आदि संस्कारमा पनि मानिसले दाउरा चिर्ने, दाउरा बोक्ने, अन्नपात कुटपिट गर्ने, बोक्ने जस्ता कार्य पनि सामूहिकरुपमा हुने गरेका छन् । यसले एकातिर सामाजिक भावनाको विकास हुने र अर्कोतिर समाजका मानिस एकठाउँमा भएर एकआपसमा मायाप्रेम र मनका कुरा साटासाट गर्ने अवसर पनि मिल्ने सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक उमाकान्त जोशीले बताए।

उनले यस्ता परम्पराले खर्चलाई न्यूनीकरण गरी समूहबाटै विभिन्न काम सम्पन्न गर्न सकिने बताए । “सहरमा पैसाले सम्बन्ध बचाएको छ तर गाउँमा अझै आपसी सहयोगले घर निर्माणसम्म हुने गरेका छन्, उनले भने, “पहिलाको समाजमा न्यून गरिबीमा सहज जीवन जिउन सकिन्थ्यो भेदभाव पनि हुन्थेन ।”

सुदूरपश्चिमको लोक समुदायमा पालोपैँचो परम्परा पनि एउटा महत्वपूर्ण परम्परा हो । आफूसँग नभएको कुरा अर्कोबाट विनापैसा पछि त्यही समान दिने सर्तमा आवश्यक वस्तु माग्ने चलन नै पालोपैँचो हो । विशेष गरी खनाइ, जोताइ, रोपाइँ तथा खर(गाज्जो) काट्नका लागि एक्लैले काम गर्दा समय पनि बढी लाग्ने र आनन्द पनि त्यति नआउने हुँदा अर्मपर्म परम्परा पुर्खाले चलाएको प्राध्यापक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्