जुत्ता सिलाउने रामहरुको यथार्थः भन्छन्, सीपको सम्मान भएन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १४:४८

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका ४३ वर्षिय नथुनी राम ।

जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुडिएको जोड्नु उनको पेसा हो । यो पेसाले उनलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उनि बताउँछन् ।

हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिए । रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्तानका रुपमा जन्मएका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ्लेख गर्न नपाएका उनि सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य भए ।

यो पेसा सुरु गर्दा उनि १६ वर्षे ठिटो थियो । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउथ्यो । महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माढीबजार आएको उनलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उनले बताए ।

उनका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे ।

समय सधैँ कहाँ एकैनास हुने रहेछ र ? आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियो । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरु बन्दै गए । जङ्गल गाउँ हुँदै सहरमा परिर्वतन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उनि भन्छन्, “तर हाम्रा दुःख ज्यूँका त्यूँ छन् । मेहेनत र सङ्र्घषले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।”

आधुनिक प्रविधिको जमानामा पनि उनको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उनले आफ्नो जीवनशैली परिर्वतन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताए ।“मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्, बुवाआमाले मलाई पढाउन सकेनन्, मैले छोराछोरीलाई पढाउन सकिनँ, उनले भने ।

जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पुर्याउनै धौधौ हुने उनको भनाइ छ । कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनु पर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०–१५ हजार पनि हुँदैन, उनले सुनाए ।

नथुनीको भाइ राजकुमार राम (वर्ष ३९) को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा परे । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत गए । लेखपढ नभएको उनलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सक्नु भएन । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको (जो अहिले गरिरहेका) सीप सिकेर गर्ने निर्णयमा पुगे । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उनले बताए ।

राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उनले सुनाए । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उनको भनाइ छ । कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ, उनले भने, पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ,उनले दुःखेसो पोखे ।

जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो । उनले विगतलाई सम्झिँदै भने, “नपढेता पनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हुँदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।”

यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उनले सुनाए । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उनले बताए । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा समेत केही सयोग लिन नसकेको उनको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्थे भन्ने उनलाई लागेको छ ।

नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका विन्देश्वर राम (४२ वर्ष) को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष विताएर आफ्नो देश फर्किएका उनले बुवाले गर्दै आएका पेसालाई निरन्तरता दिएका हुन्।

छोरा सञ्जय राम (१७ वर्ष) र भतिजा विजय राम (२८ वर्ष) पनि यतै जुत्ता सिलाउने काम गर्दछन् । बुवा दुखा राम (७० वर्ष) अझैसम्म यही काम गरिरहेका उनले बताए । आफू त नपढेर दुख पाए, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोशिस गरें, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पठाईदिन्छु,”उनले भने ।

चार छोरी र दुई छोराका बाबु बताउने विन्देश्वर दुई छोरीको विहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताउँछन् । सम्पत्तिको नाममा बुवाको नाममा दुई कठ्ठा जमिन छ । उनको दुई दाजुभाइले बुवाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् ।

सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उनिहरु सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौं या त भारतका बजारमा लिन जानु पर्छ । स्थानीय सरकारर्ले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हस्ताको शनिबार ५० रुपैंयाका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका–६ बैरियाका नागेन्द्र रामले (३७ वर्ष) बताए ।

यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेवापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नु पर्ने उनले जानकारी दिए । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरुको सीपलाई सम्मान नगरेको उनको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवर्द्धन गर्न सके स्थानीय स्तरका धेरै युवाहरुले रोजगारी पाउने उनको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उनले बताए ।

नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष वित्यो । परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उनले भने, खेतवारी छैन, पेट पाल्नका लागि जसरी भएपनि कमाउनै पर्यो ।”

उनि जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि १ हजार रुपैंयासम्म कमाउँछन् । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटान, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतको लागि खर्च पुर्याउनु पर्ने उनले बताए । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझिदिने उनको गुनासो छ ।

यो रामहरुको पुख्र्यौली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उनिहरुको पेसाले सम्मान पाउन सकेको छैन । उनिहरुको सीपलाई संरक्षण तथा प्रवर्द्धन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उनिहरुको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्