Shikhar Insurance

शिखरका लगानीकर्तालाई ३८ प्रतिशत लाभांस, लगत्तै ३० प्रतिशत हकप्रद

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ औं र १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको मुख्य कार्यालयमा सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६.१ प्रतिशत (आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पूँजीमा २७.७६९ प्रतिशत हुने)का दरले ३८ करोड १६ लाख ८९ हजार १ सय २७ रुपैयाँ बोनस सेयर पारित गरेको छ । यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा १.९ प्रतिशत (आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा १.४६२ प्रतिशत हुने) का दरले नगद लाभांश २ करोड ८८ हजार ९ सय १ रुपैयाँ वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने एजेण्डा पारित भएको छ ।

प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ : ४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ । बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ ।

यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख’का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट संचालकमा निर्वाचित भएका छन् ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताए ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्