Shikhar Insurance

‘काबिल’ सचिवको खोजी, टिम फेर्दै अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सचिवसहित मन्त्रालयको कोर टिम फेर्ने तयारी थालेका छन् । अर्थ सचिव अर्जुन पोखरेल र राजश्व सचिव डा.रामप्रसाद घिमिरेको टोलीले गतिलो काम नगरेको भन्दै अर्थमन्त्रीले टिम फेर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा पनि नयाँ सचिव ल्याउनुपर्ने विषयमा सहमत भइसकेका छन् । देउवाले सचिव मात्रै नभएर महत्वपूर्ण महाशाखा र विभागका केही प्रमुखहरुको समेत सरुवा गर्ने संकेत गरेको स्रोत बताउँछ ।

‘देखिने, सुनिने, बुझिने र पत्याइने काबिल पात्रको खोजी भइरहेको छ’, स्रोतले भन्यो । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकिएर सीआईबीले सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएपछि अर्थ मन्त्रालयमा नयाँ सचिव भित्र्याउने तयारी रहेको स्रोत बताउँछ ।  ‘सुन काण्डको छानबिनले एउटा निचोड निकालेपछि सचिव, केही महाशाखा र विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर हुने परिस्थिति निर्माण भइरहेको छ’, उच्च स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थ सचिव पोखरेल नेतृत्वको अर्थ प्रशासनले बजेटको प्रतिरक्षामा प्रभावकारी भूमिका खेल्न नसकेको, निजी क्षेत्रसँगको दुरी घटाउन कुनै भूमिका नखेलेको, अर्थ मन्त्रालयको आन्तरिक प्रशासनिक सुधारमा पनि खासै सकारात्मक प्रभाव देखाउन नसकेको, अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको लबिङ पनि राम्रो बनाउन नसकेको निष्कर्षमा अर्थमन्त्री र कांग्रेस नेतृत्व पुगेको बताइन्छ । ‘कांग्रेस नेतृत्वमा अर्थ मन्त्रालय छ, तर निजी क्षेत्रको मनोबल इतिहासमै कमजोर बनेको छ, बजेटको प्रतिरक्षामा अर्थमन्त्री मात्रै उभिएको जस्तो देखिन्छ, अर्थ प्रशासनले बजेटमाथिका भ्रम चिर्न कुनै भूमिका खेल्न सकेन’, स्रोतले भन्यो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले २०८० बैशाख २१ गते तोयम रायाको ठाउँमा अर्जुन पोखरेललाई अर्थ सचिव बनाएका थिए । राजश्व सचिव डा. रामप्रसाद घिमिरेलाई भने तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७९ पुस २२ गते राजश्व सचिव नियुक्त गरेका थिए । दुई महिनादेखि अर्थ सचिवको जिम्मेवारीमा रहेका पोखरेलले हालसम्म बजेटको प्रतिरक्षाका लागि एउटा पनि गतिलो सार्वजनिक धारणा व्यक्त गरेका छैनन् । ८ महिनादेखि राजश्व सचिवको जिम्मेवारीमा रहेका डा. घिमिरेले राजश्व लक्ष्य पूरा गराउन ठोस पहल गरेको देखिन्न ।

स्रोतका अनुसार दुई सचिव, राजश्व महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुखहरुको जिम्मेवारीसमेत हेरफेर हुनेछ ।
त्यस्तै, भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकसहित ठूला करदाता कार्यालय, वीरगञ्ज भन्सार, भैरहवा भन्सार, विराटनगर भन्सार र रसुवागढी तथा तातोपानी भन्सारका प्रमुखहरु पनि फेरिने सम्भावना बढेको छ ।

को-को माथि छ आँखा ?
स्रोतका अनुसार अर्थसचिवका रूपमा कृष्णहरी पुष्करको नाम अग्रपंक्तिमा छ । त्यसबाहेक मधु मरासिनी, तोयम राया, रामेश्वर दंगाल, केवलप्रसाद भण्डारी लगायतलाई हेरिएको छ । ‘अब यस्तो पात्रलाई ल्याउने तयारी भइरहेको छ, जसको नामले नै समाजमा केही हदसम्म सकारात्मक सन्देश जाओस्, विषय वस्तुको राम्रो ज्ञान र निजी क्षेत्रसँग समन्वय गर्न सक्ने पात्र नै अब अर्थ सचिव बन्नेछन्’, स्रोतले भन्यो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्