Shikhar Insurance

निजी क्षेत्र फकाउँदै सरकार- ब्याजदर, पुँजी बजार र लगानी प्राथमिकतामा

दिलु कार्की
२०७९ पुष १३, बुधबार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री बनेकै दिन अर्थात पुस ११ गते सोमबार एकै पटक ५६.८६ अंकले बढेर १,९२४.०७ विन्दुमा पुग्यो । मंगलबार पनि ५९.८७ अंकले बजार बढेकै छ ।

नयाँ सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले निजी क्षेत्रको मन जित्ने प्रयास स्वरुप आफ्ना अधिकांश निर्णय अर्थतन्त्रसँग जोडेर गर्यो । सरकारको पहिलो निर्णय मै तरलता संकुचन, उच्च ब्याजदर र पुँजी बजारको गिरावटलाई सम्बोधन गर्ने भनियो ।

Citizen Life
Kumar Bank
Nepal Life

‘वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने ।’, सरकारको पहिलो निर्णयमा भनिएको छ । पहिलो मन्त्रिपरिषद बैठकबाट पाँच वटा निर्णय गरेको सरकारले अधिकांश विषय अर्थतन्त्रसँग जोडेको देखिन्छ ।

सरकारले राजश्व लक्ष्य पुर्याउन चुहावट नियन्त्रण, प्रशासनिक खर्च कटौतीदेखि आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक बनाउने भनेको छ । अर्थमन्त्री बनेर मन्त्रालय पुग्ने वित्तिकै बिष्णु पौडेलले आन्दोलनमा रहेका बिराटनगरका व्यवसायीलाई वार्ता गर्न काठमाडौं बोलाए । ब्याजदर र तरलता संकटको समाधान चाहियो भन्दै धर्नामा बसेका बिराटनगरका व्यवसायी तुरुन्तै आन्दोलन रोकेर वार्ताका लागि राजधानीमा उडिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पनि नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वसँग निजी निवासमै भेट गरे । भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने र समाधानको प्रतिवद्धता व्यक्त गरेका थिए ।

म निजी क्षेत्रकै प्रतिनिधी हुँ
अर्थमन्त्री पौडेलले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघको नेतृत्वसँग भेटेर छलफल गरिसकेका छन् । मन्त्री पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छेउमै राखेर आफुले निजी क्षेत्रको प्रतिनिधीकै रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले स्पष्ट पारे । उनले भने–म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु ।’

नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए । ‘तपाईहरू दह्रो मनोवलका साथ काम गर्नुहोस, समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं, समस्या छ तर समाधान गर्न सकिन्छ ।’, मन्त्री पौडेलले भने ।

अब्बल व्यवस्थापकिय क्षमता
अर्थमन्त्री बिष्णु पौडेलले एमाले भित्र अब्बल व्यवस्थापकिय क्षमता भएका नेताको छवि बनाएका छन् । सबैलाई रिझाउन सक्ने यहि क्षमताकै कारण उनी नेकपा कालमा आफु भन्दा बरिष्ठहरुलाई पाखा लगाउँदै महासचिव बन्न सफल भएका थिए । त्यतिबेला उनलाई अध्यक्षद्धय केपी ओली र प्रचण्ड दुबैको साथ थियो । एमाले कालमा उनी केपी ओली र माधव नेपाल दुबैका लागि प्रिय पात्र थिए । बिजनेश कम्युनिटीमा उनको निकै राम्रो छाप छ । त्यहि छापका कारण एमाले भित्र उनका बिरोधीहरुले पौडेललाई ‘बिष्णु अग्रवाल’ भन्ने गर्छन् ।

बुटवल हुँदै भैरहवा क्षेत्रका व्यवसायीबाट झाँगिएको उनको सम्बन्ध बिराटनगर, बिरगञ्ज, काठमाडौंका सबै जसो ठूला घरानाहरुसम्म फैलिएको छ । पौडेलले बिजनेश कम्युनिटीलाई कसरी कन्भिन्स गर्नुपर्छ भन्ने मात्रै बुझेका छैनन्, उनीहरुको साथ पाउँदा तुरुन्तै राम्रो काम गरेको सन्देश दिन सकिने तथ्यलाई पनि आत्मसाथ गरेका छन् । कोर अर्थशास्त्रीहरुले आलोचना गरेको भए पनि उनका सबै बजेटहरुबाट बिजनेश कम्युनिटीको ठूलो हिस्सा खुसी थियो र आम सर्वसाधारणले पनि राम्रो मानेका थिए ।

र केहि संशय पनि
प्रधानमन्त्री र अर्थमन्त्री दुबैको पहिलो ध्यान निजी क्षेत्रलाई विश्वासमा लिन केन्द्रित भएको देखिन्छ । अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्दै तोकिएको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने चुनौती त सरकारसँग छ नै साथमा अर्थतन्त्रका आधारभूत सूचांकहरुमा सुधार गर्नुपर्ने बाध्यता पनि छ । व्यवसायीलाई खुसी बनाउनु भनेकै उनीहरुका पुरा गराउनु पनि हो ।

सहज आयात, ब्याजदर नीतिमा पुनरावलोकन, चालु पुँजी कर्जा नीतिको कार्यान्वयनमा पुनर्बिचार जस्ता व्यवसायीहरुका माग पुरा गर्दा उनीहरुको मन त जित्न सकिएला तर अर्थतन्त्रले सहि ट्रयाक लिन्छ भन्ने ग्यारेन्टी भने हुन्न । उसो त सरकारले पुँजी बजारको गिरावटलाई सम्बोधन गर्ने भनेको छ । त्यसले पुँजी बजार अनावश्यक रुपले बढेर लाखौं लगानीकर्ता सडकमा आईपुग्ने त होइनन् भन्ने संशय पनि उत्पन्न गर्छ ।

भविष्य कस्तो हुनेछ ? सरकारले दिएको संकेतले अर्थतन्त्रलाई कता लैजान्छ, त्यो समयक्रमले देखाउला तर अहिलेलाई भने ८० प्रतिशत भन्दा ठूलो हिस्सा ओगटेको निजी क्षेत्रमा रक्त सञ्चार प्रवाह भएकै देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्