Shikhar Insurance

वार्षिक चार माना कोदोको भरमा पुस्तौँदेखिको कटुवाल पेसा धान्दै गोरखाका मनबहादुर

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार ११:२२
NIMB
Nabil Bank

गोरखा । नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो । हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै दर्जी पनि उमेरमै कटुवाल पेसामा जोडिए । माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउँछन् । गाउँको खबर गाउँलेका घरघरमा पु¥याउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ । पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउँछन् । “गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ । बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ” उनले बताए । मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन । उनले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ । मनबहादुरले भने,“हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ । बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु ।” कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउँछन् ।

“गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन् । त्यहीँ खायो, काम ग¥यो” उनले सुनाए । चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उनको भनाइ छ । “मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ । त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ ।”उनले भने पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउँछन् । “अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो । यही पेसाले नै परिवार पालेको छु ।” उनले बताए ।

लामो समयदेखि कटुवाल गर्दै आएका उनलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ । “वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो । अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु ।” मनबहादुरले बताए । कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उनले गर्व गर्छन् । गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउँछन् । “पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन् । त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन्” उनले भने । पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताउँछन् । “माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ । उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुुरानो परम्परा हो” उनले बताए । मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्