नगर अस्पतालको आधुनिक भवन बनाइँदै

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार १०:२०

नवलपरासी । गैँडाकोट नगरपालिकास्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु गरिएको छ । पन्ध्र शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले १८ करोड बजेट विनियोजन गरेपछि निर्माण शुरु गरिएको हो ।

सरकारले विनियोजन गरेको रकममध्ये १ करोड बजेट निकासा भएलगत्तै नगर अस्पताल निर्माणको काम अगाडि बढेको नगरप्रमुख छत्रराज पौडेलले बताए ।

आधुनिक सेवा सुविधासहितको नगर अस्पताल भवनको प्रारम्भिक चरणको निर्माण शुरु भएको भन्दै उनले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी दिए । आकस्मिक कक्ष निर्माणसँगै नगर अस्पतालले गत वर्षको फागुन २७ गतेदेखि सेवा प्रदान गर्दै आएको थियो ।

अस्पतालमा दुई मेडिकल अधिकृत (एमबिबीएस चिकित्सक) सहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाएपछि सबै दरबन्दीसहित अहिले उपलब्ध हुन नसकेका सेवासमेत प्रदान गर्न सकिने नगरप्रमुख पौडेलले बताउए । अस्पतालबाट हाल आकस्मिक सेवासहित प्रसूति सेवा, ड्रेसिङ सेवा तथा प्राथमिक उपचार सेवा प्रदान गरिँदै आएको छ ।

गैँडाकोट नगर अस्पताल विकास समितिका अध्यक्ष एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले निर्माण शुरु गरिएको नयाँ भवनमा जेनेरेटर जडान, सेवा सहजताका लागि छुट्टाछुट्टै कक्ष तथा खानेपानीको सहज व्यवस्थापन हुने जानकारी दिए ।

अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी तालिकालाई व्यवस्थित पार्ने, पुराना फाइल हटाउने, वरपर सरसफाइ गर्दै हरियाली बनाउने र अस्पतालमा बगैँचा व्यवस्थापन गर्दै नगर अस्पताललाई आकर्षक बनाउने गरी काम अगाडि बढेको सुवेदीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्