करका दरमा बदनियत देखिएपछि राजश्वका हाकिम फेर्दै अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २२, सोमबार ०९:१२

काठमाडौं । अनेक प्रयत्नहरुका वावजुद पनि करका दरहरुमा स्वार्थ बाझिएका प्रमाणहरु फेला परेपछि सरकारले राजश्व सचिव र आन्तरिक राजश्व विभागका महानिर्देशक फेर्ने तयारी गरेको छ ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट बनाउँदा करका दरहरु चलाउने मोटामोटी जिम्मा राजश्व सचिव डा. रामप्रसाद घिमिरे र आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीले बदनियत करका दरहरु हेरफेरमा भूमिका खेलेको र अर्थमन्त्रीलाई गुमराहमा राखेर बजेटको व्यापक बिरोध गर्ने परिस्थिति निर्माण गरेको भन्दै सरकारले यी दुबै जनाको विकल्प खोज्न थालेको हो ।

बिशेष गरि आर्थिक बिधेयकको २६, २७ र २९ नम्बर बुँदाँको व्यापक आलोचना भैरहेको छ । सेयर बजारका लगानीकर्ताहरुको पुँजीगत लाभकरबारे नयाँ व्यवस्था समेटिएको २९ नम्बर बुँदाबारे स्वयं आन्तरिक राजश्व विभागले दुई पटक स्पष्ट पार्दै प्रेस विज्ञप्ति नै निकाल्नु परेको थियो । त्यतिले नपुगेर लगानीकर्ताले ब्रोकर कार्यालयमा ताला लगाउँदै सेयर कारोबार नै रोक्न थालेपछि अर्थमन्त्रालयमै अर्थमन्त्रीकै अगुवाईमा वार्ता गरि पुनः अर्काे स्टेटमेन्ट जारी गर्नुपरेको थियो ।

यसरी आर्थिक विधेयकमा प्रस्ताव गरिएको व्यवस्था फिर्ता लिन गरि मन्त्री नै झुक्नुपर्ने अवस्था सृजना भएपछि राजश्व सचिव र विभागका महानिर्देशक मैनाली प्रतिको दृष्टिकोण झनै नकारात्मक बनेको स्रोत बताउँछ । ‘संसदमा बजेटबारे छलफल नै सुरु भएको छैन्, लगानीकर्तासँग मन्त्रालयमै बसेर विधेयकको व्यवस्था फिर्ता गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुपरेपछि मन्त्रीज्यूले निकै तनाब महशुस गर्नु भएको छ’, अर्थमन्त्रालय स्रोतले भन्यो ।

कसरी आयो आर्थिक बिधेयकमा बैंक र सेयर बजार मास्ने व्यवस्था ? मैनालीले बालकोट रिझाएको आरोप


आर्थिक विधेयकको २६ र २७ नम्बर बुँदाले अर्थमन्त्रीलाई झनै धेरै दबावमा पारेको छ । नेपालको बैंकिङ क्षेत्र नै मास्ने षडयन्त्रसहित मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेन र एफपिओको रकममा कर लगाउने व्यवस्था अघि सारिएको भन्दै मन्त्री डा. महतको व्यापक आलोचना भैरहेको छ । काँग्रेस निकटकै व्यवसायीहरुले समेत २६ र २७ नम्बर बुँदाबाट पछि हट्न दबाव दिँदै आएको छन् ।

यी तिन वटै बुँदाहरु महानिर्देशक मैनालीको सिफारिस र राजश्व सचिव घिमिरेको जोडबलमा समावेश भएको स्रोत बताउँछ । ‘यसपाली मन्त्रीज्यूले करका दरहरुमा खासै चासो र हस्तक्षेप गर्नु भएको थिएन, कर्मचारीहरुलाई त्यसमा अधिक जिम्मेवारी दिईएको थियो, तर विश्वासको गलत फाइदा उठाएको जस्तो देखियो, केहि दरहरुले त मन्त्री र सरकारलाई नै घेराबन्दीमा पारेको छ’, अर्थमन्त्रालय स्रोतले भन्यो ।

राजश्वका हाकिम भन्छन्ः चित्त नबुझे अदालत गए हुन्छ


अहिलेका राजश्व सचिव डा. घिमिरेलाई अघिल्ला अर्थमन्त्री बिष्णु पौडेलले ल्याएका हुन् भने विभागका महानिर्देशक मैनालीलाई तत्कालिन अर्थ मन्त्री जनार्दन शर्माले विभागमा पठाएका थिए । राजश्व सचिव डा. घिमिरेलाई हटाएर हाल अख्तियार सचिव रहेका रामेश्वर दंगाललाई ल्याउने चर्चा छ भने मैनालीलाई भुपाल बरालले विस्थापित गर्ने पक्कापक्की भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्