Shikhar Insurance

१ लाख लगानीबाट सुरू गरेको पशुपालन व्यवसायबाट वार्षिक १० लाख आम्दानी 

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १६:५४
NIMB
Nabil Bank
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका किसान प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् ।
कोइराला सुन्दरहरैँचा–१० मा रहेको सुकुना सामुदायिक अस्पतालको स्वास्थ्य सहायक पदमा कार्यरत छन् । कोइराला विगत २५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएको छ । विगत छ वर्षदेखि पशुपालनमा लागेका कोइराला अहिले परिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन् । कोइरालाले दिप्सन कृषि फार्म दर्ता गरेर सानाठूला १९ वटा गाईपालन गरेको छ । उनले पशुपालन व्यवसायबाट एक परिवारलाई स्थायी रूपमा रोजगारी दिएको छ । पशुपालन व्यवसायबाट वार्षिक १ १० लाख आम्दानी गर्न सफल भएको कोइरालाले सुनाए ।
विसं २०७५ मा फार्म दर्ता गरी व्यावसायिक रूपमा गाईपालनको सुरूवात गरेको कोइराला बताउछन् । कोइरालाले सुरूमा १ लाखको लागतमा  दुईवटा उन्नत जातको गाई र दुई बोका खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फार्ममा गाई तथा बाच्छाबाच्छी गरी १९ चौयापा छन् । तीमध्ये आठ गाई  दुहुना छन् । गाईले  दैनिक ६५ लिटरसम्म दूध दिने गर्छ । दूध इन्द्रपुर दुग्ध सहकारीमा बिक्रीका लागि लैजाने गरिएको कोइरालाले उल्लेख गरे । अहिले दूध बिक्रीका लागि बजारमा कुनै समस्या नरहेको बताउँदै उनले सुन्दरहरैँचामा अहिले दूध प्रतिलिटर ८० र दही १ सयमा बिक्री हुने गरेको जानकारी दिए ।
गाईपालन गरेपछि गाउँका स्थानीयवासीले पनि शुद्व दूध, दही खान पाएको कोइरालाको भनाइ छ । १ लाखको लगानीबाट सुरू गरेको कोइरालाको फार्ममा अहिले ५० लाखको लगानी पुगेको छ  । पशुपालनको आम्दानीबाटै यो लगानी बढाउन सफल भएको उनको भनाइ छ । कोइरालाले पशुपालन व्यवसायलाई थप मजबुत बनाउन दुई सय स्थानीय कुखुरा तथा १२ वटा खसी बाख्रा पालनसमेत गरेको छ । उनले  दुग्धजन्य पदार्थ, कुखुरा, मल र अन्न  बिक्रीबाट आम्दानी गर्न सफल भएको बताए । विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहे पनि पशुपालनबाट रोजगार सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन व्यवसाय सुरू गरेको कोइरालाले सुनाए । धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेकोले यसको अन्त्य हुनु जरूरी रहेको कोइरालाले बताए । स्वदेशमै मन लगाएर पशुपालन गर्न सके प्रशस्त आम्दानी गर्न सकिन्छ ।
आफूले काम गर्ने अस्पताल घरदेखि नजिकै रहेकाले बिहान बेलुकाको समय मिलाएर तथा बिदाको दिनमा पशुपालनमा रमाउने गरेको कोइरालले उल्लेख गरे । परिवारका सदस्यले समेत उनको कामलाई सघाइरहेका छन् । कोइरालाले डेढ बिघा जग्गामा फार्म सञ्चालन गरेको छ । पशुपालनका लागि घाँस, पराल आफ्नै जग्गाबाट उत्पादन गर्ने गरेको उनको भनाइ छ । अहिलेसम्म सरकारी निकायबाट गोठ सुधारको लागि समान्य सहयोग पाएको तथा पाउनुपर्ने खालको सहयोग र अनुदान कतैबाट नपाएको कोइरालले उल्लेख गरे । कम लगानी र छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै कोइरालाले अहिले फार्ममा विभिन्न ठाउँबाट पशुपालन अवलोकन गर्न, दुग्धजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेको सुनाए ।
पशुपालन र कृषि पेसाबाट आम्दानी गरी परिचित हुनुभएका कोइरालाले गोबर ग्यास जडान गरी खाना पकाउने तथा लेदोमलबाट कृषि उत्पादन बढाउन सफल भएको छ । पढेलेखेका युवा पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्न सकिने उनको सुझाव छ । उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गरेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने कोइरालाको अनुभव रहेको छ ।
सुन्दरहरैँचा नगरपालिकाका पशुपक्षी शाखा प्रमुख किशोरकुमार कार्कीले नगरपालिकाले यो वर्ष पशुपक्षीको लागि राम्रो बजेटको व्यवस्थापन गर्न नसकेको स्वीकाए । उनले बजेटको व्यवस्थापन गर्न नसके पनि पशुपक्षीको लागि नगर भेटनरी अस्पताल स्थापनाको प्रक्रियामा अगाडि बढेको उल्लेख गरे । उनले अघिल्लो वर्ष नगरपालिकाको तर्फबाट गोठ सुधारको लागि व्यावसायिक फार्म सञ्चालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिएको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्