Shikhar Insurance

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १७:५७
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटीज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्युरिटिजको सञ्चालक समितिले देवकोटालाई असाेज २१ गतेदेखि लागू हुने गरी चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्तिपश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

व्यवसायिक रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्वपार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटीजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।

देशकै अग्रणी नबिल बैंकले पुँजी बजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्युरिटीज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । चुक्ता पुँजी १ अर्ब बाउन्न करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीन धितोपत्र दलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गर्ने गरेको छ । नबिल सेक्युरिटीजले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर) ७७० को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्